आधारभूत तह पढाउन डेराको बास

शैक्षिक सत्र २०८१/०८२ देखि गौरीशंकर गाउँपालिकाले दुर्गमका विद्यार्थी पढाउनका लागि गौरीशंकर माध्यमिक विद्यालयमा आवासीय सुविधासहितको पढाइ सञ्चालन गर्दै आएको थियो । तर यस वर्ष उक्त सुविधाबारे अन्योल हुँदा विद्यार्थी र अभिभावक विद्यालय नजिकै डेरा लिएर बस्न बाध्य छन् ।

जेष्ठ २१, २०८३

केदार शिवाकोटी

Dormitory accommodation for basic education

दोलखा — गत वैशाखमा छोरीलाई ६ कक्षामा पढाउन विगु गाउँपालिका–१ लामाबगरका लालबहादुर तामाङले सोही वडाको जगतमा डेरा खोजे । ५ कक्षासम्म पढाउन आफ्नै गाउँमा विद्यालय थियो । त्यसपछिको कक्षा पढाउन उनलाई जगत झर्नुपरेको हो । घरबाट उनकी छोरीलाई जगतमा रहेको विद्यालय आउजाउ गर्न कम्तीमा ५ घण्टा लाग्छ ।

गएको वर्ष जगतको गौरीशंकर माध्यमिक विद्यालयमा आवासीय सुविधा थियो । २०८१/०८२ को शैक्षिक सत्रदेखि पालिकाले दुर्गमका बालबालिकाका लागि खाना–खाजासहित आवासीय विद्यालय सञ्चालनमा ल्याएको थियो। तर यसवर्ष आवासीय सुविधा के हुने भन्ने अन्योल हुँदा तामाङ जस्तै अरु अभिभावकहरू छोराछोरी पढाउन जगतमा डेरा लिएर बस्न बाध्य छन् ।

यो वर्षको शैक्षिक सत्र सुरु भइसकेको छ । तर उक्त आवासीय सुविधाका लागि छुट्याएको बजेट अघिल्लो शैक्षिक सत्र सञ्चालन हुने समय (चैत) सम्मका लागि मात्र थियो । जसका कारण यो शैक्षिक सत्रमा पालिकाले विद्यालयलाई आवासीय विद्यार्थीका लागि बजेट विनियोजन गर्छ या गर्दैन भन्ने अन्योलमा परेर विद्यालयले आवासीय सुविधा सुरु गर्न नसकेको विद्यालयका प्रधानाध्यापक हिरामणि गौतमले बताउँछन् । 

'पालिकाले कार्यविधि यो वर्ष बनाएको छ । तर बजेटको टुंगो नभएका कारण विद्यार्थीलाई घरबाट आउन भनेका छौं । निकै टाढाबाट आउने विद्यार्थीका लागि आवास खुला गरेर आफ्नै खर्चमा पकाएर खान दिएका छौं,' उनले भने,  'हाल आवास प्रयोग गरेर १२ जना विद्यार्थी आफैंले पकाएर आफ्नै खर्चमा खान्छन् । साना बालबालिकाका अभिभावकले तत्कालका लागि डेरामा राखेर पठाएका छन् । अर्को वर्षबाट शैक्षिक सत्रको सुरुदेखि नै राख्ने गरी बजेट विनियोजनको आग्रह गरेका छौं ।'

पालिकाले आवासीय सुविधाका लागि बजेट छुट्याउँदा साउनदेखि चैतसम्म मात्रै छुट्याएकोले नयाँ शैक्षिक सत्र सुरु भएको ३ महिना विद्यार्थी र अभिभावकमा अन्योलता छाएको पालिका उपाध्यक्ष देविका थामीले बताइन् । उनका अनुसार गत शैक्षिक सत्र चैतमा सकिएको र बजेट पनि सकिएको बताइन् । तर वैशाख, जेठ र असारका लागि भने बजेट नछुट्याइएको स्वीकार गरिन् । उनले भनिन्, 'संघ वा प्रदेशले आवासीय विद्यालय स्वीकृत गर्छ कि भन्ने लागेर हामीले बजेट शैक्षिक सत्रको सुरुदेखि नै दिने गरी बनाउन सकेनौं । यो पटक पनि स्वीकृति नपाए हामी आफैं वर्षभरि नै विद्यार्थीलाई आवाससहितको सुविधा उपलब्ध हुने गरी बजेट यो आर्थिक वर्षमा बनाउँछौं ।'

दुर्गमको गौरीशंकर माध्यमिक विद्यालय विगु र गौरीशंकर गाउँपालिकाका ४ वटा वडाका २१ वटा गाउँका बालबालिकाले अध्ययन गर्ने एक मात्र विद्यालय हो । कतिपय गाउँमा कक्षा ३ र कतिपय गाउँमा कक्षा ५ सम्मका आधारभूत विद्यालय छन् । दुर्गमका गाउँका बालबालिकालाई कक्षा ६ भन्दा माथि पढ्न यही विद्यालय आउनुपर्छ कि सहर छिर्नु पर्छ ।

आवासीय सुविधा हुन्छ भनेर छोरीलाई विद्यालयमा भर्ना गरिदिएर डेरामा राखेर पढाउँदै गरेका लालबहादुरले बताए । ‘गएको वर्ष मेरी छोरीजस्ता धेरैले विद्यालयमै बसेर पढ्न पाएका थिए,’ उनले भने, ‘यो वर्ष पनि पाइन्छ होला भनेर भर्ना गरेको हो, अझैसम्म टुङ्गो लागेको छैन ।’ लामाबगरबाट हिँडेर विद्यालय पठाउन कलिला बालबालिकालाई सम्भव नभएकाले जगतमा डेरा खोजेर पढाउन राखेको उनले बताए । आर्थिक अवस्था ठिकठाक हुनेले छोराछोरी पढाउन सिंगटी र चरिकोट लैजाने गरेको उनले बताए। आवासीय विद्यालय नहुँदा धेरैले बालबालिकालाई कक्षा ५ सम्म पढाएर त्यसपछि घरमै राख्ने गरेकोसमेत उनले बताए ।

‘भीर र खोलानालाको बाटो छ, कतिखेर कताबाट ढुङ्गा झर्छ पत्तो हुँदैन,’ उनले भने, ‘पानी परेपछि खोला बढ्ने, पहिरो चल्ने हुन्छ । यस्तोमा घण्टौं हिँडेर कसरी छोराछोरीलाई विद्यालय पठाउने ?’

दुर्गमको यो विद्यालयमा हाल ३ सय ५८ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । गएको वर्ष ८३ जना बालबालिकाले आवासीय सुविधा पाएर विद्यालयमै बसेर पढेका थिए । अझ रोचक त यो विद्यालयमा अभिभावकविहीनसहित पारिवारिक विग्रहमा परेका झण्डै एक सय जना बालबालिका अध्ययनरत छन् । एक जना विद्यार्थीको लागि महिनाको ३५ सय रुपैयाँभन्दा बढी खर्च हुने प्रधानाध्यापक गौतमले बताए । उनका अनुसार गत शैक्षिक सत्रमा पालिकाले ८३ विद्यार्थीलाई आवासीय सुविधाका ३० लाख लाख रुपैयाँ खर्च गरेको थियो ।

पालिका उपाध्यक्ष थामीले आफ्नो पालिकामा आवासीय विद्यालयका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको बताइन् । उनले गौरीशंकर विद्यालयमा भने ३० लाख पठाइएको बताइन् । उनले भनिन्, 'पालिकाले अरु विद्यालयमा पनि एसईईको बेला आवासीय सुविधा दिएर पढाउँछ । सबै विद्यालयका लागि ६० लाख छुट्याइएको हो । अझ पुगेन भने थपेर पनि दिन्छौं । सबैको पहुँचमा शिक्षा होस् भनेर यस वर्ष बजेट थप्ने योजना गरेका छौं ।'

οοο

कक्षा ७ मा अध्ययन गर्दै गरेका हरि (नाम परिवर्तन) गएको वर्ष विद्यालयकै आवासीय सुविधामा पढे । तर यो वर्ष आवासीय सुविधा नभएका कारण उनी आफन्तको घरबाट विद्यालय धाउँछन् । त्यो पनि दैनिक आउनजान ५ घण्टा हिँड्नु पर्छ । आर्थिक अभाव भएका उनी विद्यालयमा पढ्न जगतमा डेरा लिन सक्दैनन् । गएको वर्षजस्तै आवासीय सुविधा पाइन्छ होला भनेर यसवर्ष विद्यालयमा भर्ना भएको उनी बताउँछन् । तर जेठको मध्यसम्म पनि विद्यालयले आवासीय सुविधाका लागि नखुलाएपछि उनी आफन्तकोबाट विद्यालय धाउनुपरेको बताउँछन् ।

‘विद्यालयमा आवासीय सुविधा पाइन्छ होला भनेर भर्ना भएको हुँ,’ उनले भने, ‘दैनिक बिहान सबेरै हिँडेर आउनुपर्छ । उता आफन्तकहाँ पनि काम नगरी खान पाइँदैन । विद्यालय छुटेपछि अबेर साँझ मात्रै घर पुगिन्छ ।’ विद्यालयले आवासीय सुविधा नदिए पढाइ नै छोड्नुको विकल्प नरहेको उनले बताए । उनीजस्ता धेरै बालबालिका अझै पनि कक्षा ५ पढेर विद्यालय आउन नसकेको उनले बताए । विद्यालयमा आउने उनीजस्ता बालबालिका अरूको घरमा काम गरेर विद्यालय धाउने गरेको उदाहरण दिन्छन् उनी ।

गौरीशंकर माध्यमिक विद्यालयले प्रदेश सरकारलाई आवासीय सुविधासहितको विद्यालय बनाइदिन पत्राचार गरेको प्रधानाध्यापक गौतमले बताए । ‘२१ भन्दा बढी गाउँका दुर्गमका बालबालिका पढ्ने यो मात्रै विद्यालय छ,’ उनले भने, ‘कतिपय विद्यार्थी घरबाट आउनजान नै ६ घण्टा लाग्ने भूगोल छ । त्यसमाथि आर्थिक अभावले दुर्गमका विद्यार्थी ड्रपआउट हुने गरेका छन् ।’ 

यो शैक्षिक सत्रमा एक सय विद्यार्थीलाई विद्यालयमै आवासीय सुविधा दिने गरी तयारी थालेको उनले बताए । पालिकाले बजेटमा समेट्ने प्रतिबद्धता गरेलगत्तै अभिभावकविहीन, पारिवारिक विग्रहमा परेका तथा कम्तीमा आउनजान २ घण्टाभन्दा बढी लाग्ने भूगोलका बालबालिकालाई विद्यालयमा आवासीय सुविधा उपलब्ध गराउने तयारी गरिएको उनको दाबी छ ।

संघीय र प्रदेश सरकारले नै विद्यालयलाई आवासीय नबनाए हरेक वर्ष यो समस्या आइरहने उनले बताए । जसका कारण कक्षा ५ पछि बालबालिका विद्यालयबाट ड्रपआउट हुने संख्या बढ्ने उनले बताए । ‘टाढा र जोखिम क्षेत्रका बालबालिकालाई घण्टौं हिँडेर विद्यालय पठाउन भनेर हामी अभिभावकलाई भन्न पनि सक्दैनौं,’ उनले भने, ‘डेरा खोजेर पढाउन सक्नेले पढाउँछन्, विपन्न र अभिभावकविहीन बालबालिका पढाइबाट वञ्चित हुने क्रम भने बढ्दो छ ।’

सडकको सुविधा भएका बालबालिकालाई विद्यालयमा बस सञ्चालनमा ल्याए विद्यालय ल्याउन सहज हुने उनले बताए । दुर्गम यो भेगका स्थानीय छोराछोरी पढाउनकै लागि गाउँ छाडेर रोजगारी खोज्दै सहर झर्ने गरेको उनले बताए । गौरीशंकरको सिमीगाउँ, रिकु, टासिनासहित विगुको लामाबगर, ठोङठोङ, गोगरडाँडालगायतबाट विद्यार्थीलाई आवासीय सुविधा नहुँदा ६ घण्टाभन्दा बढी हिँड्नुपर्ने बाध्यता भएको उनले बताए । 

दुर्गमका बालबालिकालाई विद्यालय ड्रपआउट हुन नदिन गौरीशंकर माध्यमिक विद्यालयलाई आवासीयसहित खाना–खाजाको व्यवस्था गरेको उपाध्यक्ष थामीले बताइन् । प्रदेश र संघीय सरकारलाई विद्यालयलाई आवासीय बनाइदिन पटक–पटक सिफारिस गरे पनि अझैसम्म काम हुन नसकेको उनले बताइन् । प्रदेश र संघले दुर्गमका बालबालिकाको पढ्न पाउने अधिकारका विषयमा खासै चासो नदिए पनि आफ्नो पालासम्म पालिकाकै खर्चमा आवासीयसहितको व्यवस्था गर्ने उनले बताइन् ।

‘अभिभावकविहीनदेखि दुर्गमबाट घण्टौं हिँड्ने बालबालिकाको भविष्यलाई हेरेर पालिकाले आवासीय विद्यालय सञ्चालन गरेको हो,’ उनले भनिन्, ‘यो निरन्तर हुन्छ, हामी आगामी बजेटमा पनि समेट्छौं ।’ अभिभावकविहीन र पारिवारिक विग्रहमा परेका बालबालिकाको पढाइको सुनिश्चिततासहितका कार्यक्रम समेटिने उनले बताइन् ।

केदार

Link copied successfully