सरकारले त्रिभुवन विश्वविद्यालयसहित ८ विश्वविद्यालयका उपकुलपति पदका लागि २५ वैशाखमा अनलाइन दरखास्त आह्वान गरेको थियो ।
What you should know
काठमाडौँ — विभिन्न ८ विश्वविद्यालयका उपकुलपति बन्न २ सय १८ जनाको आवेदन परेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
सरकारले त्रिभुवन विश्वविद्यालयसहित पूर्वाञ्चल, पोखरा, लुम्बिनी बौद्ध, कृषि तथा वन विज्ञान, मध्यपश्चिम, सुदूरपश्चिम र राजर्षि जनक विश्वविद्यालयका उपकुलपति पदका लागि २५ वैशाखमा अनलाइन दरखास्त आह्वान गरेको थियो । त्यसमा २ सय १८ जनाको आवेदन परेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ । एक जनाले बढीमा दुई विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । ‘कतिपयले दुवैतिर आवेदन दिएका छन् । आवेदनहरु रुजु गर्दैछौं । रुजु सकेपछि आवेदन स्वीकृत गरेर संक्षिप्त सूची सार्वजनिक हुनेछ,’ उपकुलपति छनोट तथा सिफारिस समिति निकट स्रोतले भन्यो ।
समितिले उपकुलपति छनोटसम्बन्धी कार्यविधि आवेदनकै क्रममा जारी गरेको थियो । जसमा ३५ पूर्णांकमा व्यक्तिगत विवरणहरुको मूल्यांकन गरी संक्षिप्त सूची तयार पारिने उल्लेख छ । कुल १ सय पूर्णांकमध्ये बाँकी ६५ पूर्णांकमा उम्मेदवारको विश्वविद्यालयसम्बन्धी सोचपत्र, कार्ययोजना, त्यसको प्रस्तुति र अन्तर्वार्ता लिई मेरिटको आधारमा सिफारिस गर्ने कार्यविधिमा उल्लेख छ । शिक्षामन्त्री सस्मित पोखरेलको नेतृत्वमा बनेको सिफारिस समितिमा शिक्षा सचिव चुडामणि पौडेल र राष्ट्रिय योजना आयोगमा शिक्षा हेर्ने सदस्य रेसु अर्याल ढुंगाना सदस्य छन् । सिफारिस समितिले विज्ञ नियुक्त गरी आवेदनहरुको सोचपत्र, कार्ययोजनाको मूल्यांकन र अन्तर्वार्ता लिने कार्यविधिमा व्यवस्था गरिएको छ ।
सरकारले अध्यादेशमार्फत यसअघिका सरकारले नियुक्त गरेका करिब १५ सय जनाको नियुक्ति खारेज गरिदिएपछि सबै विश्वविद्यालयहरुमा उपकुलपति लगायतका पदाधिकारी खाली रहेका छन् । पद रिक्त भएका ठाउँमा कुलपति तथा प्रधानमन्त्री वालेन्द्र शाहले डिन र वरिष्ठतम प्राध्यापकलाई निमित्तको जिम्मेवारी दिएका छन् । त्रिभुवन विश्वविद्यालयका इन्जिनियरिङ अध्यक्ष संस्थानका डिन सुशील बज्राचार्यलाई निमित्त उपकुलपति तोकिएको छ । व्यवस्थापन संकायका डिन महानन्द चालिसेलाई रजिष्ट्रार र विज्ञान संकायका डिन शंकर खनाललाई रेक्टरको जिम्मेवारी तोकिएको छ । काठमाडौं विश्वविद्यालयमा डिनहरु पनि पदमुक्त भएकाले परीक्षा नियन्त्रक ऋषिकेश वाग्लेलाई निमित्त तोकिएको छ । वाग्लेले पदमुक्त भएका सात वटै स्कुलका डिनहरुलाई पुनः डिनको जिम्मेवारी दिएका छन् ।
