५ सय बालबालिका पढ्ने तीन सामुदायिक विद्यालय भत्काइयो

कुनै निर्णय र सरसल्लाहबिना विद्यालयमा डोजर लगाएको भन्दै शिक्षक र अभिभावक भने असन्तुष्ट छन् । डोजर लगाएर भत्काइएका विद्यालय नजिकैको अर्को सामुदायिक विद्यालयमा गाभ्ने सरकारको तायरी छ ।

वैशाख २०, २०८३

सुदीप कैनी

Three community schools with 500 children demolished

What you should know

काठमाडौँ — सरकारले काठमाडौं उपत्यकाको सुकुमवासी बस्ती हटाउने क्रममा ५ सयभन्दा धेरै बालबालिका अध्ययरत सार्वजनिक जग्गामा रहेका तीन सामुदायिक विद्यालयका भवन पनि भत्काएको छ । भक्तपुरको मध्यपुर थिमिस्थित मनोहराको सरस्वती आधारभूत विद्यालय, काठमाडौंको बालाजुस्थित बुद्धज्योति उद्यान आधारभूत र बालकल्याण आधारभूत विद्यालयको कक्षाकोठा डोजर लगाएर हटाइएको छ ।

यी विद्यालयमा कक्षा ८ सम्म पठनपाठन हुँदै आएका थियो । सरस्वतीमा २ सय ७५, बुद्धज्योति र बालकल्याणमा समान १२० जना विद्यार्थी अध्ययरत थिए । भर्ना र पठनपाठन थाल्ने बेला विद्यालय भवन भत्काएपछि अन्योलमा परेको यी विद्यालयका प्रधानाध्यापकहरूले जनाए । महानगरपालिका र नगरपालिकाले भने यी विद्यालय मर्ज गरिने बताएका छन् ।

विद्यालय भवन भत्केपछि पनि १ सय ५० जना बालबालिका भर्ना भएको तर उनीहरूलाई कहाँ राखेर कक्षा सञ्चालन गर्ने टुंगो नभएको सरस्वती विद्यालयकी प्रधानाध्यापक इन्दिरा महतले बताइन् । विद्यालयमा सुकुमवासी बस्ती र अन्य बस्तीका मिश्रित रूपमा भर्ना भएर पठनपाठन गर्दै आएका थिए । ‘वडा नम्बर १ को वडा कार्यालयमा सामुदायिक भवनका ५–६ वटा कोठा खाली रहेछन् । विद्यालयका सरसामान त्यहीं लगेर राखेका छौं,’ उनले भनिन्, ‘डेढ सय विद्यार्थीले भर्ना लिइसके । कहाँ राखेर ती बालबालिकालाई पढाउने ठेगान छैन ।’

विद्यालय सञ्चालनका लागि मध्यपुर थिमि नगरपालिका, वडा कार्यालय र भक्तपुर जिल्ला प्रशासन कार्यालयसँग समन्वय र छलफल भइरहेको उनले बताइन् । ‘विद्यालय स्थापना र पठनपाठन सञ्चालन गर्न पहल गरिरहेका छौं । नगरपालिका र सीडीओ कार्यालयबाट छिमेकी विद्यालयहरूसँग समायोजन गर्ने कुरा गर्नुभएको छ । के गर्ने निर्णय भइसकेको छैन,’ प्रअ महतले भनिन् ।

स्थानीय र शिक्षकहरूले भने समायोजनभन्दा पनि छुट्टै ठाउँमा विद्यालय स्थापना गरी सञ्चालन गर्नुपर्ने माग राखेका थिए । उक्त विद्यालयमा १५ शिक्षक कार्यरत छन् । २०६२ सालमा उक्त विद्यालय स्थापना भएको थियो । भूकम्पपछि शिक्षा मन्त्रालयले भवन पुनर्निर्माण गरेको थियो । जिल्ला शिक्षा कार्यालय र भूकम्पपछि पुनर्निर्माण भएकोसहित ३ वटा भवनको १५ वटा कक्षाकोठा डोजरले भत्काएको छ । कुनै निर्णय र सरसल्लाहबिना विद्यालयमा डोजर लगाएको भन्दै शिक्षक र अभिभावक भने असन्तुष्ट छन् ।

वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले भत्काइएको विद्यालय पुनः सञ्चालनको विषयमा छलफल चलिरहेको बताए । ‘सरस्वती आधारभूत विद्यालयलाई नजिकका अन्य सामुदायिक विद्यालयसँग मर्ज गर्ने सरसल्लाह भएको छ । मेयर देश बाहिर भएकाले निर्णय हुन सकेको छैन । उहाँ फर्कनेबित्तिकै निर्णय हुन्छ,’ प्रवक्ता आचार्यले भने ।

Three community schools with 500 children demolished

२०५३ देखि काठमाडौं महानगरपालिका–१६ स्थित बालाजुमा सञ्चालित बुद्धज्योति विद्यालयको १६ कोठे भवन पनि शनिबार डोजर लगाएर भत्काइएको छ । समुदायले श्रमदान र आर्थिक सहयोग गरेर बनेको भवन भत्काइएको प्रधानाध्यापक शान्तराम श्रेष्ठले जनाए । ‘नयाँ बसपार्क क्षेत्रमा मजदुरी गर्ने अभिभावकका बालबालिका धेरै थिए,’ उनले भने, ‘डोजर चलेपछि छिमेकी विद्यालय तरुण माविमा लगेर विद्यालयको सरसामान राखेका छौं । शिक्षक र विद्यार्थीलाई त्यहीं आउन भनेका छौं ।’ विद्यालयमा १ सय २० बालबालिका अध्ययरत थिए भने शिक्षक, कर्मचारी गरी १४ जना कार्यरत थिए ।

महानगरपालिकासँग विद्यालय स्थानान्तरण गर्न माग गरिएको उनले जनाए । ‘अहिले तरुण माविले आश्रय दिएको छ । विद्यालयका सबै सरसामान त्यहीं राखिएको छ । महानगरले पनि तरुण माविमा नै आश्रित हुनु भनेको छ,’ प्रअ श्रेष्ठले भने, ‘विद्यालयले जग्गा खोजेर विद्यालय स्थानान्तरण गर्न महानगरमा पत्र बुझाएको छ । के निर्णय हुन्छ थाहा छैन ।’ यस वर्ष १५ नयाँ विद्यार्थी भर्ना भए पनि विद्यालय भवन नै नभएपछि अभिभावक अन्योलमा परेका छन् । सरकारी जग्गामा बसेको विद्यालय भवन नभत्काउन आग्रह गर्दासमेत सरकारी पक्षले सुनुवाइ नगरेको विद्यालयले जनाएको छ ।

काठमाडौं महानगरपालिका–१६ बालाजुमा २०४९ सालदेखि सञ्चालित बालकल्याण विद्यालयको भवन पनि भत्काइएको छ । प्रअ अर्जुन मुडभरीले १२० जना विद्यार्थी अध्ययरत रहेको जनाए । विद्यालयमा ११ शिक्षक तथा कर्मचारी छन् । ‘सार्वजनिक जग्गामा बनेको विद्यालयमा डोजर लगाएर भत्काइयो । नजिकैको नेपाल युवक माविमा लगेर विद्यालयका सामग्री राखेका छौं । शिक्षक कर्मचारीले त्यहीं हाजिर गर्ने गरेका छौं,’ उनले भने ।

स्थानीय तहसँग विद्यालय सञ्चालन र पुनःस्थापनाका लागि अनुरोध गरिएको प्रअ मुडभरीले जनाए । ‘बालबालिकालाई पायक पर्ने ठाउँमा पठनपाठन गराउनुपर्छ । अहिले डोजर लागेको ठाउँमा बाढीपहिरोको जोखिम थियो । खेल्न ठाउँ थिएन,’ उनले भने, ‘अब उपर्युक्त स्थानमा जग्गा खोजेर विद्यालय सञ्चालन गर्नुपर्छ । विद्यालय मास्न हुँदैन । विकल्प दिएर विद्यालय खोल्नुपर्छ,’ उनले भने ।

महानगरका प्रवक्ता नवीन मानन्धरले भने तरुण र नेपाल युवक माविमा भत्केका विद्यलायहरू सारिएको जनाए । ‘महानगरका दुई विद्यालय भत्किए । ती दुवैलाई नजिकैको माविमा स्थानान्तरण गरिएको छ,’ उनले भने, ‘अब ती विद्यालय त्यहीं मर्ज हुन्छन् । नयाँ स्कुल खुल्दैन,’ उनले भने । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले सुकुमवासी बस्ती भत्काउने क्रममा बालअधिकारमाथि गम्भीर असर पुगेको ठहर गरेको छ । अभियानका अध्यक्ष तिलोत्तम पौडेल र महासचिव राजु घिमिरेले विज्ञप्ति जारी गरी विस्थापित बालबालिकाका लागि तत्काल बालमैत्री सिकाइ केन्द्र, वैकल्पिक शिक्षाको व्यवस्था तथा कुनै पनि अवस्थामा विद्यालयमा क्षति नपुर्‍याउने स्पष्ट प्रतिबद्धता सार्वजनिक गर्न सरकासँग माग गरेका छन् । शिक्षा मन्त्रालयले स्थानीय तहलाई भत्किएका विद्यालयको स्थानान्तरणसहित शिक्षक, विद्यार्थीको व्यवस्था गर्न आग्रह गरेको छ ।

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully