सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाहरूलाई निःशुल्क पढ्ने व्यवस्था गरिने 

उपत्यकासहित देशका विभिन्न ठाउँमा सुकुम्बासी बस्ती हटाउने सरकारी अभियान तीव्र बन्दै जाँदा प्रभावित बालबालिकाको शिक्षामा असर नपरोस् भन्दै ती संगठनहरुले ध्यानाकर्षण गराएका हुन् ।

वैशाख २०, २०८३

कान्तिपुर संवाददाता

Provision will be made for free education for children affected by the removal of squatter settlements

काठमाडौँ — निजी विद्यालयका संगठनहरुले सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाहरूलाई निःशुल्क पढ्ने अवसर उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । 

एपेन, एन-प्याब्सन, हिसान र प्याब्सनले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उपत्यकाका विभिन्न नदी किनार तथा मुलुकका विभिन्न जोखिमयुक्त स्थानका प्रभावित तथा वास्तविक सुकुमवासी परिवारका बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चितका लागि तत् क्षेत्रका निजी विद्यालयहरूमा नि:शुल्क पढ्ने व्यवस्था गर्ने जनाएका हुन् । 

'स्थानीय तह तथा सम्बन्धित निकायहरूसँग समन्वय गरी प्रभावित तथा वास्तविक सुकुमवासी परिवारका बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चितका लागि आवश्यक सहयोग र सहजीकरण गर्न हामी तत्पर छौँ,' विज्ञप्तिमा भनिएको छ, 'प्रभावित क्षेत्रका बालबालिकाहरूलाई तत् क्षेत्रका निजी विद्यालयहरूमा निःशुल्क ढङ्गले पढ्ने अवसर उपलब्ध गराउने, आवश्यकताअनुसार आवास तथा यातायातको व्यवस्थापन गर्ने लगायतका सहयोगात्मक उपायहरू व्यवस्थित र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सम्पूर्ण सरोकारवाला संगठनहरू तयार रहेको अनुरोध छ ।'

उपत्यकासहित देशका विभिन्न ठाउँमा सुकुम्बासी बस्ती हटाउने सरकारी अभियान तीव्र बन्दै जाँदा प्रभावित बालबालिकाको शिक्षामा असर नपरोस् भन्दै ती संगठनहरुले ध्यानाकर्षण गराएका हुन् । 'प्रभावित समुदायका बालबालिकाको पठनपाठनमा परेको अवरोधप्रति सचेत रहँदै नेपालको संविधानले प्रत्याभूत गरेको बालबालिकाको आधारभूत शिक्षाको मौलिक अधिकारलाई कुनै पनि परिस्थितिमा खलल हुन नदिनु राज्य, समाज र शैक्षिक क्षेत्रको साझा दायित्व हो,' विज्ञप्तिमा छ । 

Provision will be made for free education for children affected by the removal of squatter settlements

कान्तिपुर

Link copied successfully