प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियारले मंगलबार झापाको दमक नगरपालिका–२ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमप्रकाश उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध ९३ लाख ८६ हजार ३ सय ९ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना तथा हिनामिना भएको रकम असुलउपरको मागदावी लिएर अदालतमा मुद्दा दायर गरेको हो ।

वैशाख १५, २०८३

मातृका दाहाल

Corruption case filed against principal and accountant

काठमाडौँ — झापाको दमकस्थित सामुदायिक विद्यालयका प्रधानाध्यापक र लेखापाल मिलेर भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार झापाको दमक नगरपालिका–२ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमप्रकाश उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध ९३ लाख ८६ हजार ३ सय ९ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना तथा हिनामिना भएको रकम असुलउपरको मागदावी लिएर अदालतमा मुद्दा दायर गरेको हो । 

विद्यालयकै नमुना भवन निर्माणमा अनियमितता गरेको आरोपमा परेको उजुरीको छानबिन गर्दा प्रधानाध्यापक र लेखापालको मिलेमतोमा भ्रष्टाचार गरेको पुष्टि भएपछि अनियमिततामा संलग्न प्रतिवादीउपर मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताए । 

आब २०७७/८ देखिको बजेटमा अनियमितता भएको दावीसहित परेको उजुरी छानबिन गर्दा नमुना भवनको पहिलो चरणमा ८० लाख ७३ हजार २५९ रुपैयाँको मूल्यांकन कायम गरिएको थियो । त्यस्तै पहिलो तलाकै थप संरचना निर्माणमा आफैंले परामर्शदाता नियुक्त गरी १० चैत २०७८ सम्झौता गरी ६७ लाख ७९ हजार ९ सय ९५ रुपैयाँबराबर खर्च भएको देखिएबाट सो भवन निर्माण मूल्यांकन रकम १ करोड ४८ लाख ५३ हजार २३५ रुपैयाँ भएकामा विद्यालयबाट प्राप्त भवन निर्माणको बिल/बिजक तथा गोश्वारा भौचर र भुक्तानी विवरणबमोजिम पहिलो तला भवन निर्माणमा २ करोड ७ लाख ७९ हजार ९९२ रुपैया भुक्तानी भएको पाइएको छ ।

अख्तियारका अनुसार मूल्यांकनभन्दा बढीको भवन निर्माण भएको भनी खर्चको झुट्टा बिल भरपाई बनाई बढी खर्चको काम भएको कागजात तयार पारी ५९ लाख २६ हजार ६ सय ८६ रुपैयाँ बढी भुक्तानी गरेको पाइएको हो । यस्तै प्रधानाध्यापक र लेखापालले मिलेमतोमा आब २०७७७८ बाटै १६ लाख ६० हजार १ सय १ रुपैयाँ हिनामिना गरेको र विद्यालयको नगद रकम व्यक्तिगत प्रयोग गरी १७ लाख ९६ हजार ५ सय २१ रुपैयाँ पनि अनियमितता गरेको अनुसन्धानबाट खुलेको हो ।

यसरी भवन निर्माण, हिनामिनाअन्तर्गतको बेरुजु र व्यक्तिगत खातााम सरकारी रकम लगेकोलगायत कूल रकमलाई बिगो कायम गरी अख्तियारले मुद्दा दायर गरेको हो ।

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully