काठमाडौं, ललितपुर र भक्तपुरका नगरपालिकाका मेयरहरुको संस्था फोरमले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहको रहेको भन्दै उक्त निर्णय गरेको जनाएको छ ।
काठमाडौँ — काठमाडौं उपत्यका मेयर्स फोरमले वैशाख ११ गतेबाट विद्यार्थी भर्न र १५ गतेबाट पठनपाठन थाल्ने निर्णय गरेको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका नगरपालिकाका मेयरहरुको संस्था फोरमले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहको रहेको भन्दै उक्त निर्णय गरेको जनाएको छ ।
फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबावु महर्जनले विज्ञप्ति जारी गरेर वैशाख १५ गतेबाट पठनपाठन थाल्न भनेका हुन् । शिक्षा मन्त्रालयले वैशाख १५ गतेबाट विद्यार्थी भर्ना र २१ गतेबाट पठनपाठन थाल्ने निर्णय गर्दै स्थानीय तहलाई अनुरोध गरेको थियो । उक्त अनुरोध नगरपालिका संघ र गाउँपालिका महासंघले विरोध गर्दै आफूअनुकूल विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई आग्रह गरेका थिए ।
मेयर्स फोरमले संविधानको अनुसुची ८ मा आधारभूत र माध्यमिक शिक्षा स्थानीय तहको एकल अधिकार रहेको उल्लेख रहेको जनाएको छ । ढिला गरी पठनपाठन थाल्दा विद्यार्थीको सिकाई उपलब्धिमा क्षति पुग्ने फोरमको भनाइ छ । अभिभावक र सरोकारवाला निकायले पनि चाँडो विद्यालय सञ्चालन गर्न अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।
इन्धन संकटलाई ध्यानमा राखेर विद्युतीय सवारी साधन प्रयोग गर्न, विद्यालय सञ्चालन तथा पठनपाठन अवरुद्ध हुन नदिनका लागि अनलाइन कक्षालगायत वैकल्पिक उपाय अपनाउन अनुरोध गरिएको छ । 'विद्यार्थीको सिकाई उपलब्धिमा हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न र उपत्यकाको शैक्षिक वातावरणमा एकरुपता कायम गर्नका लागि सबै विद्यालयहरुमा शैक्षिक सत्र सञ्चालनको भावनाअनुरुप पठनपाठन सुचारु गर्न आवश्यक देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
