बुधबार सामाजिक सञ्जालमार्फत उनले विद्यार्थी सुरक्षा तथा उत्पीडन रिपोर्टिङ फाराम सार्वजनिक गर्दै आह्वान गरेका हुन् ।
काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिर युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कुनै पनि उत्पीडन वा दुर्व्यवहारमा परेका विद्यार्थीलाई गुनासो दर्ता गर्न आह्वान गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत उनले विद्यार्थी सुरक्षा तथा उत्पीडन रिपोर्टिङ फाराम सार्वजनिक गर्दै आह्वान गरेका हुन् । ‘शिक्षा मन्त्रालय शैक्षिक संस्थाहरूमा हुने कुनै पनि प्रकारका दुर्व्यवहार र शोषणका विरुद्ध शून्य सहनशीलताको नीति अंगीकार गर्दछ । विद्यालय, प्लस टु तथा विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूले भोग्नुपरेका कुनै पनि किसिमका उत्पीडन वा दुर्व्यवहारका घटनाहरूलाई गम्भीरतापूर्वक लिँदै त्यस्ता गुनासोहरू प्रत्यक्ष रूपमा सुन्न र तत्काल कानुनी तथा प्रशासनिक कारबाही अगाडि बढाउन यो विशेष संयन्त्र सञ्चालनमा ल्याएको छ,’ उनले फेसबुक पेजमा लेखका छन् ।
विद्यार्थीका गुनासा र उजुरी गोप्य र सुरक्षित रहने शिक्षामन्त्री पोखरेलको भनाइ छ । ‘पीडित वा जानकारी दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य र सुरक्षित राखिने प्रतिबद्धता व्यक्त गर्दै निर्धक्क आफ्नो विवरण उपलब्ध गराउनुहुन सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक आह्वान गरिन्छ,’ उनले भनेका छन् । सुरक्षित शैक्षिक वातावरण निर्माण गर्ने सरकारको अभियानमा सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरिएको उनको भनाइ छ । उनले सार्वजनिक गरेको गुगल डक फाराममा लेखिएको छ, ‘तपाईंले यो फाराम गुमनाम रूपमा पेस गर्न सक्नुहुन्छ । तपाईंको पहिचान सोधिने छैन र यसलाई कडाइका साथ गोप्य राखिनेछ । प्रदान गरिएको जानकारी नीति सुधार र सुरक्षित शैक्षिक वातावरण सुनिश्चित गर्न आवश्यक कारबाहीको लागि मात्र प्रयोग गरिनेछ ।' असुरक्षित महसुस गरेका र खतरा महसुस भए स्थानीय अधिकारीहरुलाई सम्पर्क गर्नु भनिएको छ ।
