पोखरा–३२ मालमुलस्थित विश्वविद्यालयकै प्रांगणमा आयोजना हुने समारोहको सम्पूर्ण तयारी पूरा भएको विश्वविद्यालयले जनाएको छ ।
पोखरा — गण्डकी प्रदेश सरकारद्वारा स्थापित गण्डकी विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह यही २८ चैतमा हुने भएको छ । पोखरा–३२ मालमुलस्थित विश्वविद्यालयकै प्रांगणमा आयोजना हुने समारोहको सम्पूर्ण तयारी पूरा भएको विश्वविद्यालयले जनाएको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार समारोहमा विभिन्न तीनवटा शैक्षिक कार्यक्रमका कुल ४४ जना विद्यार्थी दीक्षित हुनेछन् । जसमा ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट (बीएसएम) का ११ जना, ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) का १८ जना र बी फर्माका १५ जना विद्यार्थी रहेका छन् । समारोहमा प्रमुख दीक्षान्त वक्ताका रूपमा वरिष्ठ शिक्षाविद् प्राध्यापक केदारभक्त माथेमा सहभागी हुनेछन् ।
विश्वविद्यालयका कुलपति इन्द्रप्रसाद तिवारीले यो समारोह विश्वविद्यालयको संस्थागत विकासका लागि कोशेढुंगा सावित हुने बताए । ‘यो दीक्षान्त समारोह हाम्रो विश्वविद्यालयको शैक्षिक उत्कृष्टता र विधिसम्मत व्यवस्थापनको प्रतीक हो,’ उनले भने, ‘हामीले छोटो समयमै गण्डकी प्रदेशको उच्च शिक्षामा एक विशिष्ट पहिचान बनाउन सफल भएका छौं ।’
उपकुलपति एवं दीक्षान्त समारोह समितिका अध्यक्ष कृष्णराज अधिकारीले पहिलो दीक्षान्तलाई मर्यादित र पारदर्शी बनाउन पाँचवटा उपसमिति बनाएर काम गरेको जानकारी दिए । ‘हामीले गण्डकी विश्वविद्यालय दीक्षान्त समारोह कार्यविधि २०८२ बमोजिम नै सबै तयारी सकेका छौं,’ उनले भने, ‘उत्कृष्ट नतिजा ल्याउने एक जनालाई कुलपति पदक र प्रत्येक कार्यक्रमका एक–एक जना गरी तीन जनालाई उपकुलपति पदकबाट पुरस्कृत गरिनेछ ।’
विश्वविद्यालयले दीक्षान्त समारोहका लागि अनिवार्य ‘ड्रेस कोड’ समेत तोकेको छ । पुरुषका लागि दौरासुरुवाल वा पाइन्ट–कोट र भादगाउँले टोपी तथा महिलाका लागि सारी–चोलो र कोट निर्धारण गरिएको छ । दीक्षित विद्यार्थीले विश्वविद्यालयले उपलब्ध गराएको गाउन, स्कार्फ र टोपी अनिवार्य लगाउनुपर्नेछ ।
२०७६ मा नेपालकै पहिलो प्रदेश विश्वविद्यालयका रूपमा स्थापना भएको यस संस्थामा हाल ६ वटा कार्यक्रममा ७ सय ५० विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयले निकट भविष्यमै विद्यावारिधि र स्नातकोत्तर तहका थप कार्यक्रम सुरु गर्ने लक्ष्य राखेको छ । पत्रकार सम्मेलनमा विश्वविद्यालयले भर्खरै ‘गण्डकी रिसर्च प्रोग्राम’ समेत सुरु गरेको र अनुसन्धानमा जोड दिइरहेको जानकारी गराएको थियो ।
