परीक्षा केन्द्रमै एसईईको उत्तरपुस्तिका जाँच्न केन्द्राध्यक्षको आनाकानी

सरकारले केन्द्रमै एसईई उत्तरपुस्तिका परीक्षण गर्न भने पनि लमजुङका केन्द्राध्यक्षले निर्देशन नआएको र व्यवहारिक समस्या भएको भन्दै असहमत जनाएका छन्।

चैत्र १९, २०८२

आश गुरुङ

Center head's reluctance to check SEE answer sheets at the exam center

What you should know

लमजुङ —  

सरकारले  माध्यामिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्थितका परीक्षा केन्द्रमै परीक्षण गर्न भने पनि लमजुङमा केन्द्राध्यक्षहरुले मानेका छैनन् ।

उनीहरुले परीक्षा भएकै ठाउँमा उत्तरपुस्तिका परीक्षण गर्दा 'अप्ठ्यारो' पर्ने भन्दै पायक पर्ने ठाउँमा सेन्टर बनाएर उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने भनेका छन् ।

मर्स्याङ्दी गाउँपालिका ३, खुदीस्थित अमर मावि केन्द्रका केन्द्राध्यक्ष भिष्मकान्त अधिकारीले परीक्षण नियन्त्रण कार्यालयबाट लिखित रुपमा ठोस निर्देशन नआउँदा समस्या भएको बताए । उनले परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्दा व्यवहारिक रुपमा समस्या पर्ने बताए ।

बेंसीसहर नगरपालिका ७, बेंसीसहरबजारस्थित जनविकास मावि केन्द्रका केन्द्राध्यक्ष दीपक खनियाँले उत्तरपुस्तिकालाई प्रहरीमा लगेर राखिने र प्रहरीबाट शिक्षा विकास तथा समन्वय इकाईले लाने बताए । ‘हामीले गर्नुभन्दा कुनै केन्द्र बनाएर उत्तरपुस्तिका परीक्षा गर्दा थप पारदर्शी हुन्छ कि भन्ने हो,’ उनले भने । अहिलेसम्म इकाईबाट कुनै निर्देशन नआएको तर इकाईको निर्देशन जे आउँछ त्यसैअनुसार गरिने उनले बताए ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिवाकर शर्माका अनुसार केन्द्राध्यक्षहरुले परीक्षा केन्द्रमै उत्तरपुस्थितका परीक्षण गर्न मानेका छैनन् । उनीहरुले परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्दा केन्द्राध्यक्षहरुले अप्ठ्यारो पर्ने बताएपछि परीक्षा समन्वय समितिको बैठक राखेर निर्णय गरिने इकाई प्रमुख शर्माले बताए ।

‘केन्द्राध्यक्षहरुले हामीलाई गर्न गाह्रो भयो भन्नुभएको छ । पायक पर्ने ठाउँमा सेन्टर बनाएर उत्तरपुस्थितका परीक्षण गर्छौं,’ उनले भने । उनका अनुसार एउटा विषयको परीक्षा भएको ३ दिन भित्र उत्तरपुस्तिका परीक्षण सक्ने गरी व्यवस्था गर्ने उनले बताए ।

लमजुङमा यसवर्ष १३ वटा परीक्षा केन्द्रबाट २ हजार ८ सय १७ जना परीक्षार्थी सहभागी भएका शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । नियमित अन्तरगत साधारणतर्फ २ हजार १ सय ५४ र प्राविधिकतर्फ १ सय २५ जना साथै ग्रेड बृद्धि अन्तरगत साधारणतर्फ ४ सय ९६ र प्राविधिकतर्फ ४२ जना एसईईमा सहभागी भएका छन् ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully