मनाङबाट एसईईमा ३४ जना सहभागी हुँदै

एसईईका लागि मनाङ जिल्लाभर एउटामात्र केन्द्र सदरमुकाम चामेस्थित लोकप्रिय मावि तोकिएको छ ।

चैत्र १८, २०८२

आश गुरुङ

34 people from Manang participating in SEE

लमजुङ — चैत १९ गते बिहीबारबाट हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा हिमाली जिल्ला मनाङबाट कुल ३४ जना सहभागी हुँदैछन् । देशभर मनाङ जिल्ला सम्भवतः सबैभन्दा कम परीक्षार्थी सहभागी जिल्ला हो । 

गत वर्ष ४१ जना सहभागी थिए । यस वर्ष छात्र १८ जना र छात्रा १६ जनाले परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई मनाङका प्रमुख ध्रुवप्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार यसवर्ष ग्रेडवृद्धि र खुलातर्फ परीक्षार्थी छैनन् ।

एसईईका लागि मनाङ जिल्लाभर एउटामात्र केन्द्र सदरमुकाम चामेस्थित लोकप्रिय मावि तोकिएको छ ।

एसईईमा माथिल्लो मनाङस्थित अन्नपूर्ण माविबाट छात्रा ५ र छात्र २ गरी ७ जना, सदरमुकाम चामेस्थित लोकप्रिय माविबाट छात्र ८ र छात्रा ६ गरी १४ जना र तल्लो मनाङस्थित प्रकाशज्योति मावि थोंचेबाट छात्र ८ र छात्रा ५ गरी १३ जनाले परीक्षा दिँदैछन् । 

तल्लो मनाङको भानु मावि तालबाट यसवर्ष एसईईका लागि परीक्षार्थी छैनन् । तर, एसईईका लागि भानु मावि तालका प्रधानाध्यापक रेशम नेपालीलाई केन्द्राध्यक्ष बनाइएको छ । सिंगो मनाङ जिल्लाभर ४ वटा स्थानीय तह रहेकोमा नार्पाभूमि गाउँपालिकामा माध्यमिक विद्यालय छैन । 

परीक्षा केन्द्रमा एकजना केन्द्राध्यक्ष, एकजना सहायक केन्द्राध्यक्ष, २ जना निरीक्षक र  जना सहायक कर्मचारी खटिनेछन् ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully