अमेरिकास्थित एक संस्थाद्वारा गरिएको ‘एचई- उच्च शिक्षा र्यांकिङ’ मा विश्वका ५ सय ७ विश्वविद्यालयमध्ये काठमाडौं विश्वविद्यालय(केयू) १ सय २२ औं स्थानमा परेको जनाइएको छ । साँच्चै केयू विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल देखिएको हो ?
What you should know
काठमाडौँ — राष्ट्रिय समाचार समिति(रासस)ले काठमाडौं विश्वविद्यालयको (केयू) र्याकिङबारे लेखेको समाचार मंगलबार ईकान्तिपुरसहित विभिन्न अनलाइन पोर्टलहरूमा प्रकाशित भए । समाचारमा संयुक्त राज्य अमेरिकास्थित एक संस्थाद्वारा गरिएको ‘एचई- उच्च शिक्षा र्यांकिङ’ मा विश्वका ५ सय ७ विश्वविद्यालयमध्ये काठमाडौं विश्वविद्यालय १ सय २२ औं स्थानमा परेको जनाइएको छ ।
उक्त विषयलाई केयूका उपकुलपति अच्युत वाग्लेले गर्व गर्दै सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् । वाग्लेले लेखेका छन्, ‘नेपालको उच्च शिक्षा र केयूको लागि पनि यो गर्वको क्षण हो । केयूले विश्वस्तरीय विश्वविद्यालय बन्ने दिशामा छलाङ मारेको छ । केयूका सबै संकाय र अनुसन्धानकर्ताहरूलाई बधाई छ । केयूको शैक्षिक उत्कृष्टता निर्देशनालयको कडा परिश्रमको कदर गर्दछु ।’ समाचारको विषय र उपकूलपति वाग्लेको प्रतिक्रियालाई भने विज्ञ र जानकारहरूले आलोचना गरिरहेका छन् । संसारभर हजारौं विश्वविद्यालय छन् । केयू ५ सय ७ विश्वविद्यालयको प्रतिस्पर्धामा १ सय २२ औं स्थानमा परेको र त्यसलाई मिडियाबाजी गरेर चर्चा बटुल्ने प्रयास भइरहेको भनेर असहमति राखिएको छ । साँच्चै केयू विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल देखिएको हो ? प्रश्नहरू उठेका छन् । अर्कोतर्फ र्याकिङ गर्ने संस्थाको विश्वसनियतामाथि पनि प्रश्न उठाइएको छ । प्रतिस्पर्धामा उत्रेका र उत्कृष्ट ठहरिएका विश्वविद्यालय/शिक्षण संस्थाको विषयमा पनि आंशकाहरु गरिएको छ ।
अमेरिकी हायर एजुकेसन र्यांकिङ संस्था (एचई) को अध्ययनमा पहिलो नम्बरमा स्टान एस्टोनी कलेज लन्डन परेको छ । २७१ औं स्थानमा नेपालकै दिव्यभूमि कलेज रहेको छ । तुलनात्मक रूपमा मान्यता प्राप्त प्रख्यात टाइम्स हायर एजुकेसनलगायत हजारौं विश्वविद्यालयको स्तर मापन गर्ने संस्थाहरूको र्याकिङमा अक्सफोर्ड, हार्वड, स्ट्यानफोर्ड, क्याब्रिजलगायत विश्वविद्यालय आलोपालो पहिलो, दोस्रो वरियतामा पर्दै आएका छन् । केयू सहभागी र्याकिङमा यी विश्वविद्यालय सहभागी नै छैनन् । टाइम्सको सन् २०२५ को र्याकिङमा त्रिभुवन विश्वविद्यालय (टियू) एक हजार पाँच सय पछाडिको वरियतामा छ । उक्त र्याकिङमा केयू आधिकारिक रूपमा अहिलेसम्म सहभागी छैन ।
केयु सहभागी र्याकिङ गर्ने संस्था विश्वसनीय नभएको र र्याकिङमा जस्ता पनि शिक्षणसंस्था (कलेज, इन्स्च्यिुट, ट्रेनिङ सेन्टर) पनि सहभागी भएको टिप्पणी आलोचकहरूले गरेका छन् । यी नै आधारमा केयूको वरियतालाई भने व्यंग्य गरिएको छ । सामाजिक सञ्जालमा कृष्ण शर्माले संसारभर ‘एचई उच्च शिक्षा र्यांकिङ’ जस्ता २५ हजार संस्था रहेको दाबी गर्दै ५ सय वटा संस्थालाई लिएर अमेरिकाको एक एजेन्सीले केयूको पनि र्यांकिङ गर्दा १२२ मा परेको उल्लेख गरेका छन् ।
केयू स्कुल अफ आर्ट्सका डिन उद्धव प्याकुरेलले विश्वविद्यालयले विभिन्न संस्थाहरूमा र्याकिङ गराउने प्रयास गरिरहेको जनाए । ‘पहिले गुगलमा भेटिएका सूचना, तथ्यांकका आधारमा विभिन्न संस्थाहरूले आफैं केयूको र्याकिङ गरेका हुन्थे,’ उनले भने, ‘अहिले टाइम्स हायर एजुकेसनलगायत संस्थामा र्यांकिङ गराउन केयूले नै विभाग नै खडा गरेर सूचना र तथ्यांक उपलब्ध गराउँदै आएको छ ।’ उनका अनुसार एचई उच्च शिक्षा र्यांकिङले पनि त्यहीअनुसार नतिजा दिएको हो ।
प्रणय राणाले सूचीका अन्य विश्वविद्यालयलाई हेर्दै नहेरी नेपाली मिडियाले केयू १२२ स्थानमा परेको भन्दै खुसी मनाएको तर्क गरेका छन् । र्याकिङमा मान्यता प्राप्त नगरेका विश्वविद्यालय पनि सहभागी भएको भन्दै उनले विश्वको पहिलो विश्वविद्यालय कुन हो ? भन्दै प्रश्न गरेका छन् । अधिकांशले र्याकिङ गर्ने संस्थाको विश्वसनीयता, त्यसको पद्धति, कति विश्वविद्यालयबिचको प्रतिस्पर्धा पछिको नतिजा एकिन नगरी हचुवामा प्रचारप्रसार गरेको टिप्पणी गरेका छन् ।
केयू शैक्षिक उत्कृष्टता निर्देशनालय प्रमुख हेमराज काफ्लेले क्षमता परीक्षण गर्ने उद्देश्यले एचईको र्याकिङमा सहभागी भएको जनाए । ‘र्याकिङमा सहभागी हुन निमन्त्रणा आयो । निःशुल्क थियो । क्षमता परीक्षण गर्न सहभागी भयौँ,’ उनले भने । विश्वविद्यालयको प्रवर्द्धनका लागि टाइम्स हायरमा पनि र्याकिङमा सहभागी हुने उनले जनाए । ‘फरक/फरक एजेन्सीले विश्वविद्यालयको र्याकिङ गर्छन् । प्रचलित टाइम्ससँग पनि गर्दैछौं,’ काफ्लेले भने, ‘विभिन्न संस्थामा र्याकिङ गरेर आफैंलाई परीक्षण गर्न लागेका हौं ।’ एचईले २५ वटा सूचकमा १३६ वटा प्रश्नहरूबाट विश्वविद्यालयको अध्ययन गरी ६४ पृष्ठको रिपोर्ट दिएको उनले जनाए । उक्त रिपोर्टको आधारमा केयूलाई सुधार गर्दै लैजाने उनले बताए ।
विश्वभरका ९५ देशका ५ सय ७ विश्वविद्यालय सहभागी ‘र्यांकिङमा विश्वविद्यालयको उच्च शिक्षामा प्रभाव मापन गर्न २५ मापदण्डअन्तर्गत १ सय ३६ सूचक प्रयोग गरिएको दाबी गरिएको छ । यो ‘र्यांकिङ’ मुख्यतः दक्षिण एसिया, दक्षिण अमेरिका र पूर्वी युरोपका उदीयमान विश्वविद्यालयको कार्य सञ्चालन क्षमता मूल्यांकनमा केन्द्रित रहेको जनाइएको छ । काठमाडौं विश्वविद्यालयलाई पठाइएको इमेलमा ‘एचई उच्च शिक्षा र्यांकिङ’ की सचिव नूरा अब्दुलजलीलले उक्त उपलब्धि विश्वविद्यालयको नेतृत्व, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा पूर्वविद्यार्थीको सामूहिक प्रयास र शिक्षाप्रतिको प्रतिबद्धताको परिणाम भएको जनाइएको छ । यो उपलब्धिले शैक्षिक उत्कृष्टता र नवप्रवर्तनप्रति काठमाडौं विश्वविद्यालयको अटल प्रतिबद्धता झल्काउने इमेलमा उल्लेख गरिएको छ । उक्त इमेल केयूका पदाधिकारीहरूले नै सञ्चारमाध्यमलाई वितरण गरेका थिए ।
उक्त संस्थाले विश्वविद्यालयहरूको वास्तविक सञ्चालन प्रक्रिया र कार्यसम्पादनका आधारमा मूल्यांकन गर्दै तथ्यमा आधारित समग्र चित्र प्रस्तुत गर्ने गरेको जनाइएको छ । उक्त मूल्यांकन प्रतिवेदनमा उल्लेख गरिएअनुसार सुविधा तथा स्रोत व्यवस्थापन, शैक्षिक पारदर्शिता र भविष्य उन्मुख योजनामा विश्वविद्यालयले विशेष सम्भावना देखाएको छ । एचई उच्च शिक्षा ‘र्यांकिङ’ को विशेषता विश्वविद्यालयको सञ्चालनसँग सम्बन्धित नीति, प्रक्रिया, सेवा, उत्पादन र परिणामहरूको मापनमा जोड दिनु रहेको छ । मूल्यांकनका लागि समावेश गरिएका सूचकहरूमा समावेशिता, दिगो विकास, पारदर्शिता, उत्तरदायित्व, अनुसन्धान प्रणाली, क्याम्पस सुरक्षा, अन्तर्राष्ट्रियकरण, शैक्षिक निष्ठा तथा डिजिटल पहुँचलगायत छन् । शिक्षण, अनुसन्धान, सुशासन, समानता र सामाजिक प्रभावमा अर्थपूर्ण सुधारका लागि मार्गनिर्देशन गर्ने उद्देश्यले ‘र्यांकिङ’ तयार गरिएको संस्थाले उल्लेख गरेको छ ।
