प्रदेश सरकारले ल्याएको विधेयक बैठकमा बहुमतले पारित भएको हो । मंगलबार साँझ बसेको बैठकबाट विधेयक पारित भएको हो ।
वीरेन्द्रनगर — कर्णाली प्रदेशसभा बैठकले कर्णाली प्रज्ञा प्रतिष्ठान विधेयक पारित गरेको छ ।
प्रदेश सरकारले ल्याएको विधेयक बैठकमा बहुमतले पारित भएको हो । मंगलबार साँझ बसेको बैठकबाट विधेयक पारित भएको हो । अब प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि विधेयक ऐनका रूपमा जारी भई कार्यन्वयनमा आउने छ । ऐनमार्फत कर्णाली प्रदेशमा प्रज्ञासम्बन्धी गतिविधिहरू सञ्चालन हुनेछन् ।
यो विधेयकले कर्णाली प्रदेशमा एउटा आधिकारिक प्रज्ञा प्रतिष्ठान बनाएर भाषा, कला, संस्कृति, इतिहास जोगाउने र विकास गर्ने कामलाई संस्थागत बनाउने उद्देश्य राखेको छ ।
स्थानीय भाषा, लिपि, साहित्यको अध्ययन र संरक्षण , अनुसन्धान र प्रकाशनका कामलाई प्रोत्साहन, लोकसंस्कृति, लोकगाथा, लोकवार्ता, संगीतको संरक्षण, ललितकला र सांस्कृतिक सम्पदाको विकास कर्णाली प्रज्ञा प्रतिष्ठान नामको संस्था स्थापना गर्ने, यसमार्फत अध्ययन, अनुसन्धान, कार्यक्रम सञ्चालन गर्ने, कर्णाली सभ्यता, इतिहास, पुरातत्त्वको अध्ययन, ज्ञान, संस्कृति र पहिचान जोगाउने काम विधेयकबाट हुनेछ ।
विधेयक बनेसँगै कर्णालीको लोक साहित्य, संस्कृति, पुरातत्त्व, लोकवार्ता, ललितकलाको विकास टेवा पुग्ने अपेक्षा गरिएको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए । ’सम्पदा र संस्कृतिको जननी ज्वाला, सिंजा र कर्णाली सभ्यताको केन्द्र भएको यो क्षेत्रको लागि विधेयकले यसमा ठुलो भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।
