जुनसुकै संकायमा २ जीपीए वा ५० प्रतिशत अंक ल्याएका विद्यार्थीले पढ्न पाउने
काठमाडौँ — लुम्बिनी बौद्ध विश्वविद्यालयले नेपालमै पहिलोपटक ड्रोन, उड्डयन तथा सञ्चालन व्यवस्थापन विषयको कार्यक्रम सुरू गर्ने भएको छ ।
हेलिकप्टर कम्पनी, एयरलाइन्सलगायत क्षेत्रमा करियर निर्माण गर्न चाहने विद्यार्थीलाई लक्षित गरेर विश्वविद्यालयले मास्टर इन अनम्यान्ड एयरक्राट सिस्टम्स, एभिएसन एन्ड अपरेसन म्यानेजमेन्ट (मानवरहित विमान प्रणाली –ड्रोन, उड्डयन तथा सञ्चालन व्यवस्थापन विषय) सुरू गरेको हो ।
यो कोर्स जुनसुकै विषय पढेकाले पनि पढ्न पाउनेगरी तयार पारिएको सहप्राध्यापक वसन्त पौडेलले जानकारी दिए । उनका अनुसार जुनसुकै संकायमा २ जीपीए वा ५० प्रतिशत अंक ल्याएका विद्यार्थीले पढ्न पाउनेछन् ।
६० क्रेडिट आवरमा अध्यापन हुने यो कोर्स पूरा गर्न दुई वर्ष लाग्नेछ भने ४ लाख रुपैयाँ खर्च लाग्ने विश्वविद्यालयले जनाएको छ । कलेजले बढीमा ३५ जना विद्यार्थीहरु भर्ना लिएर स्कुल अफ डेभलपमेन्ट स्टडिज एन्ड एप्लाइड साइन्सेस, देवदह क्याम्पसमा पढाउने तयारी छ। इच्छुक विद्यार्थीहरूले विश्वविद्यालयको वेबसाइटमार्फत आवेदन दिन सक्ने समेत बस्नेतले जानकारी दिए । आवेदनको अन्तिम मिति मार्च २८, २०२६ तोकिएको छ।
उड्डयन र मानवरहित विमान प्रणालीमा केन्द्रित यो कार्यक्रममार्फत विद्यार्थीहरूले आधुनिक प्रविधिसम्बन्धी व्यावहारिक ज्ञान हासिल गर्ने कोर्स निर्माण समितिका सदस्य प्रविन भट्टराईले बताए । ‘यस कार्यक्रममार्फत नेपालमै साइबर–सुरक्षित मानवरहित विमान प्रणाली विकास गर्न सकिनेछ,’उनले भने,‘जसलाई सेना तथा अन्य सुरक्षा निकायहरूले प्रयोग गर्न सक्ने र डेटा सुरक्षामा सहयोग पुग्ने छ।’
यो पाठ्यक्रम अबुधाबी, दुबई, फ्रान्स, भारत, चीन र थाइल्यान्डका विशेषज्ञहरूको संलग्नतामा तयार गरिएको भएकाले विद्यार्थीहरूले विश्वव्यापी रोजगारीका अवसर पाउने विश्वविद्यालयले जनाएको छ। साथै, अन्तर्राष्ट्रिय विशेषज्ञहरूले अध्यापन गराउने हुँदा विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरको अनुभवसमेत प्राप्त गर्नेछन्।
‘नेपालमा पहिलो पटक सुरू गरिएको यो कोर्सका लागि अन्तर्राष्ट्रिय साझेदार संस्थासँग पनि सहकार्य गरिएको छ,’ पौडेलले भने,‘ जसअनुसार विद्यार्थीहरूले विदेशमा इण्टर्नशिप गर्ने अवसरसँगै अध्ययनपछि सर्वेक्षण, उत्पादन, पर्यटन, उद्धार तथा विपद् व्यवस्थापन, सुरक्षा, अनुसन्धान तथा विकासलगायत क्षेत्रमा करियर निर्माण गन सक्ने छन् । ’
