अपाङ्ग विद्यार्थीको शिक्षा प्रवर्धन गर्ने ग्रीन तारालाई ३ लाखको पुरस्कार

ग्रीन तारा चाइल्ड हेभेन स्कुललाई अपाङ्ग विद्यार्थीहरूको पठनपाठनमा पुर्‍याएको योगदानको लागि ३ लाख राशिको यशोधरा पन्त शिक्षा सम्मान प्रदान गरिएको हो।

फाल्गुन १२, २०८२

कान्तिपुर संवाददाता

Green Tara receives Rs 300,000 award for promoting education of disabled students

काठमाडौँ — गोकर्णेश्वर नगरपालिका–९ स्थित ग्रीन तारा चाइल्ड हेभेन स्कुललाई अपाङ्ग विद्यार्थीहरूको पठनपाठनमा पुर्‍याएको उल्लेखनीय योगदानको लागि ३ लाख राशिको यशोधरा पन्त शिक्षा सम्मान प्रदान गरिएको छ। 

कलंकीस्थित एलआरआई स्कुलले ३८ औं वर्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै सम्मानसँगै नगद पुरस्कार प्रदान गरेको विज्ञप्तिमा जनाएको छ । विद्यालयले विशेष आवश्यकता भएका बालबालिकालाई शिक्षाको मुख्यधारामा ल्याउने प्रयासलाई उच्च मूल्यांकन गर्दै पुरस्कार प्रदान गरेको जनाएको छ । 

सोही अवसरमा एलआरआईले देशभरका उत्कृष्ट शिक्षाविद्हरूलाई पनि सम्मान गरेको छ। यस वर्ष सम्मानित हुने शिक्षाविद्हरूमा काभ्रेका उदिम पन्त, कैलालीका पदमसिंह कुँवर, कैलालीकै प्रेमनिधि ओझा, ललितपुरका भोलनाथ ओझा, काठमाडौंका अनुमोदन केसी र कास्की पोखराका किरण सापकोटा  छन् । शिक्षा विकास, शिक्षक प्रशिक्षण, विद्यालय व्यवस्थापन र विद्यार्थीको समग्र विकासमा पुर्‍याएको योगदानको कदर गर्दै विद्यालयले सबैलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

Green Tara receives Rs 300,000 award for promoting education of disabled students

खेलकुद क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने डाइमन्ड स्पोर्ट्स, कलेज रिडर्सका संस्थापक जितेन्द्र घिमिरे,  सञ्चारकर्मी ईश्वर ढकाललाई पनि सम्मान गरिएको जनाईएको छ । 

विद्यालयले आन्तरिक रूपमा उत्कृष्ट कार्य गर्ने शिक्षक तथा कर्मचारीहरूलाई पनि नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरी सम्मान गरेको छ । साथै, शैक्षिक सत्रभर उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रमका काठमाडौं विश्वविद्यालयका उपकुलपति अच्युतप्रसाद वाग्ले, एलआरआईका संस्थापक शिवराज पन्त लगायतले सम्मान तथा पुरस्कार हस्तान्तरण गरेका थिए । 

कान्तिपुर

Link copied successfully