१८९ शाखा अधिकृतका लागि साढे २३ हजारले दिए प्रारम्भिक परीक्षा

आयोगले आफ्नो वार्षिक कार्यतालिकाअनुसार गत मंसिरको अन्तिम बुधबार विज्ञापन प्रकाशित गर्दै निजामती सेवातर्फ खुला तथा समावेशी समूहमा दरखास्त आह्वान गरेको थियो ।

माघ २४, २०८२

कान्तिपुर संवाददाता

23,500 candidates took the preliminary exam for 189 branch officers

काठमाडौँ — लोक सेवा आयोगले निजामती सेवातर्फ १८९ शाखा अधिकृत (अप्राविधिक) पदका लागि लिएको प्रारम्भिक परीक्षा (पहिलो पत्र) मा २३ हजार ४५९ जना विद्यार्थी सहभागी भएका छन् ।

आयोगका अनुसार निजामती सेवातर्फका परराष्ट्र प्रशासन, लेखा परीक्षण, संघीय संसद् तथा राजस्व सेवातर्फको प्रारम्भिक परीक्षाका लागि कुल २७ हजार १७ जना विद्यार्थीले आवेदन दिएका थिए । तीमध्ये २३ हजार ४५९ जना अर्थात् ८६.४८ प्रतिशत विद्यार्थी परीक्षामा सहभागी भएका हुन् । 

सहभागीमध्ये काठमाडौं उपत्यकाभित्र ११ हजार ६४४ जना (८९.७० प्रतिशत) र उपत्यकाबाहिर ११ हजार ८१५ जना (८४.१६ प्रतिशत) उपस्थित रहेको आयोगले जनाएको छ । आयोगले विज्ञप्ति जारी गर्दै शनिबार देशभर एकसाथ परीक्षा सफल रुपमा सञ्चालन गरिएको जनाएको छ ।

लोक सेवा आयोगका सहसचिव एवं प्रवक्ता पुरुषोत्तम शर्माले उत्साहजनक सहभागिताका साथ परीक्षा सम्पन्न भएको जानकारी दिएका छन् । उनका अनुसार अप्टिकल मार्क रिडर (ओएमआर) प्रविधिबाट उत्तरपुस्तिका परीक्षण गरी नतिजा १५ दिनभित्र प्रकाशन गर्ने लक्ष्य लिइएको छ ।

आयोगले आफ्नो वार्षिक कार्यतालिकाअनुसार गत मंसिरको अन्तिम बुधबार विज्ञापन प्रकाशित गर्दै निजामती सेवातर्फ खुला तथा समावेशी समूहमा दरखास्त आह्वान गरेको थियो । पहिलो पत्र उत्तीर्ण गरेपछि मात्र विद्यार्थीले आगामी चरणका परीक्षा दिन पाउने व्यवस्था रहेको आयोगले जनाएको छ ।

कान्तिपुर

Link copied successfully