मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले पहिलो दीक्षान्त समारोह आयोजना गर्दै

विश्व बैंकका पूर्व उच्च शिक्षा संयोजक डा. जमिल साल्मी प्रमुख अतिथि र क्यानडा, सिंगापुरका प्रतिष्ठित वैज्ञानिकहरू विशेष अतिथिका रूपमा समारोहमा सहभागी हुनेछन् ।

माघ २०, २०८२

कान्तिपुर संवाददाता

Madan Bhandari University of Science and Technology is organizing its first convocation ceremony.

What you should know

काठमाडौँ — मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एम्बस्ट)ले आफ्नो पहिलो दीक्षान्त समारोह यही माघ २५ मा आयोजना गर्ने भएको छ । चित्लाङस्थित आफ्नै परिसरमा आयोजना हुने यस समारोहमा विश्वविख्यात शिक्षाविद् तथा वैज्ञानिकहरुको सहभागी हुने विश्वविद्यालयले जानकारी दिएको छ । 

समारोहका प्रमुख अतिथि उच्च शिक्षाका ख्यातिप्राप्त विज्ञ डा. जमिल साल्मी छन् । उनले विश्व बैंकको उच्च शिक्षा संयोजक, डिएगो पोर्टल्स विश्वविद्यालय चिलीमा उच्च शिक्षा नीतिका सम्मानित प्राध्यापक र संयुक्त राज्य अमेरिकाको बोस्टन कलेजको अन्तर्राष्ट्रिय उच्च शिक्षा केन्द्रका अनुसन्धान फेलो रहेर चार दशकभन्दा लामो अनुभव हासिल गरेका छन् । 

समारोहको विशेष अतिथिका रूपमा क्यानडाकी प्रा. सुजन फोर्टियर र सिंगापुरका प्रा. सीराम रामकृष्ण हुनेछन् । म्याकगिल विश्वविद्यालयकी उपकुलपति एवं क्यानडाको प्राकृतिक विज्ञान तथा इन्जिनियरिङ अनुसन्धान परिषद्की अध्यक्ष रहेकी प्रा. फोर्टियर अनुसन्धान र नवप्रवर्तनमा योगदानका लागि परिचित छन् । प्रा. रामकृष्ण इलेक्ट्रो स्पिनिङ र न्यानो प्रविधिका अग्रणी वैज्ञानिक छन् र हाल चीनको सिन्ह्वा विश्वविद्यालयका चेयर प्रोफेसर तथा चिनिया विज्ञान प्रतिष्ठान (कास) का प्राज्ञ पनि हुन् । उनीहरु दुवै एम्बस्ट बोर्ड अफ ट्रस्टिजमा छन् ।

दीक्षान्त समारोहको सभापतित्व विश्वविद्यालय बोर्ड अफ ट्रस्टिजका अध्यक्ष पद्म ज्योतिले गर्नेछन् । २०७९ सालमा यो विश्वविद्यालय स्थापना भएको हो ।

समारोहमा विश्वविद्यालयका अध्यक्ष (प्रेसिडेन्ट) डा. राजेन्द्रध्वज जोशीले स्वागत मन्तव्यको क्रममा उद्योग तथा राष्ट्रिय अर्थतन्त्रको विकासमा विश्वविद्यालयले कसरी काम गर्दैछ भन्ने विषयमा प्रकाश पार्नेछन् । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानमा प्राध्यापक र डीनसमेत रहेका डा. जोशीले विश्व बैंक र यूएनडीपीमा शिक्षाविद् तथा वरिष्ठ सल्लाहकारको रूपमा लामो अनुभव हासिल गरेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully