एम्बस्टको उपाध्यक्षमा डा. दिनेशराज भुजु नियुक्त

तीन दशकभन्दा बढी समयदेखि उच्च शिक्षा, अनुसन्धान र विज्ञान नीति क्षेत्रमा सक्रिय डा. भुजु हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) का प्राज्ञ हुन् ।

माघ ८, २०८२

कान्तिपुर संवाददाता

Dr. Dinesh Raj Bhuju appointed as Vice-Chairman of Embast

काठमाडौँ — मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एम्बस्ट)ले डा. दिनेशराज भुजु लाई उपाध्यक्ष (शैक्षिक तथा अनुसन्धान) पदमा नियुक्त गरेको छ ।

उनी चीनको नर्थवेस्ट युनिभर्सिटीमा अतिथि प्राध्यापकका रूपमा पनि कार्यरत छन् । यसअघि उनले नेपाल, इटाली र पोल्याण्डका विभिन्न विश्वविद्यालयहरूमा अध्यापन गरी सकेका छन् । डा. भुजुले जापानको चिबा विश्वविद्यालयबाट इकोलोजी विषयमा विद्यावारिधि हासिल गरेका हुन् । उनले नास्टमा विज्ञान संकाय प्रमुख तथा विभाग प्रमुख, ख्व:प इन्जिनियरिङ कलेजका संस्थापक प्राचार्य, तथा मध्यपश्चिम विश्वविद्यालयका शैक्षिक संयोजक तथा कार्यकारी निर्देशकजस्ता जिम्मेवारी सम्हाली सकेका छन् ।

भुजुको अनुसन्धान मुख्यतः चुरे क्षेत्रको इकोलोजी, हिमाली वृक्षरेखा तथा डेन्ड्रो–जलवायुविज्ञानमा केन्द्रीत छ । उनले युनेस्को, यूएनडीपी, इसिमोड, डब्लुडब्लुएफ तथा नेपाल सरकारको सहकार्यमा जलवायु परिवर्तन, जैविक विविधता संरक्षण, विपद् जोखिम व्यवस्थापन र विज्ञान नीतिसम्बन्धी विभिन्न अनुसन्धान तथा नीतिगत परियोजनाहरूको नेतृत्व र परामर्श दिएका छन् । उनका ८० भन्दा बढी समिक्षित जर्नल लेख, ५० भन्दा बढी पुस्तक अध्याय तथा सम्मेलन कार्यपत्र र २० भन्दा बढी पुस्तक तथा पाठ्यपुस्तक प्रकाशित छन् ।

कान्तिपुर

Link copied successfully