पुस मसान्तसम्म एसईईको परीक्षा केन्द्र तोक्न निर्देशन

चैत पहिलो सातादेखि एसईई परीक्षा सञ्चालन गर्ने कार्यतालिका छ ।

पुस १८, २०८२

कान्तिपुर संवाददाता

Instructions to designate SEE exam centers by mid-December

What you should know

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले पुस मसान्तसम्म एसईईको परीक्षा केन्द्र  तोक्न देशभरका शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीले इकाईलाई पत्राचार गर्दै केन्द्र तोकी माघ पहिलो सातासम्म बोर्डमा जानकारी पठाउन निर्देशन दिएका छन् ।

चैत पहिलो सातादेखि एसईई परीक्षा सञ्चालन गर्ने कार्यतालिका छ । ‘विगतका वर्षहरूमा परीक्षा केन्द्र निर्धारण तथा परीक्षा केन्द्रमा हाजिरी, उत्तरपुस्तिका व्यवस्थापनलगायतका विषयमा त्रुटि हुँदा नतिजा प्रकाशनमा समस्या भएको तथा केही परीक्षार्थीहरूको नतिजा स्थगित रहन गएको हुँदा परीक्षा केन्द्र निर्धारण गर्दा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका लागू गर्न अनुरोध छ,’ पत्राचारमा भनिएको छ ।

दुर्गम/हिमाली क्षेत्रमा कम्तीमा एक सय ५०, पहाडी क्षेत्रमा दुई सय ५० र तराई तथा उपत्यकामा कम्तीमा ३ सयभन्दा कम र ४ सयभन्दा बढी नहुने गरी परीक्षा केन्द्र तोक्न निर्देशन दिइएको छ । तोकिएभन्दा कम विद्यार्थी संख्या हुने गरी केन्द्र तोकिएमा बजेटको व्यवस्था नहुने बोर्डले प्रस्ट पारेको छ ।

एसईईमा देशभरबाट ५ लाख हाराहारीमा विद्यार्थी सहभागी हुँदै आएका छन । सहरी क्षेत्र, काठमाडौं उपत्यका, तराई, भित्री मधेशमा एउटा विद्यालयको हरेक वर्ष त्यही केन्द्र पर्ने गरी नतोक्न भनिएको छ । 

एउटा विद्यालयका विद्यार्थी मात्र रहने गरी केन्द्र कायम नगरी दुई वा सोभन्दा बढी विद्यालयका विद्यार्थी सहभागी हुने गरी कायम गर्न निर्देशन दिइएको छ ।

विद्यार्थीको सुविधा, परीक्षाको मर्यादा, निष्पक्षता सुनिश्चितता, परीक्षा सञ्चालन र व्यवस्थापनमा सहजता हुने भए तोकिएको विद्यार्थी संख्या नघट्ने गरी स्थानीय पालिकागत रूपमा केन्द्र निर्धारण गर्न सकिने बोर्डले जनाएको छ । इकाईको सिफारिसमा जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने परीक्षा समितिले परीक्षा केन्द्र तोक्ने व्यवस्था छ ।  

कान्तिपुर संवाददाता

Link copied successfully