शिक्षण संस्थामा ‘डीआई’ नराख्न शिक्षा मन्त्रालयको निर्देशन

विदेशी सम्बन्धनका शिक्षण संस्थाले लिने शुल्क १५ दिनभित्र मन्त्रालयमा बुझाउनुपर्ने

पुस १५, २०८२

कान्तिपुर संवाददाता

Ministry of Education directs against keeping 'DI' in educational institutions

What you should know

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण संस्थामा डिसिप्लिन इन्चार्ज (डीआई) नराख्न निर्देशन दिएको छ । विद्यार्थीलाई अनुशासनमा राख्न भन्दै डीआई राखेको गुनासो आएकाले तत्काल हटाउन मन्त्रालयले निर्देशन जारी गरेको छ ।

शिक्षामन्त्री महावीर पुनले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने शिक्षणसंस्थालाई १० बुँदे निर्देशन जारी गर्दै नियम र सर्तहरू पालना गर्न स्मरण गराएका छन् ।

‘शिक्षण संस्थाभित्र विद्यार्थीलाई अनुशासनमा राख्न भनि डिसिप्लिन इन्चार्ज (डीआई) राख्ने गरेका र त्यसबाट विद्यार्थीको सिकाइमा नकारात्मक असर परेको गुनासो प्राप्त हुन आएकाले छ । त्यस्तो व्यवस्था शिक्षणसंस्थामा गरेको भए तत्काल हटाइ विद्यार्थीलाई सहयोग र सल्लाह प्रदान गर्नका लागि विद्यार्थी परामर्श कक्ष स्थापना गरी विद्यार्थीलाई उचित परामर्श प्रदान गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ । कक्षबाट विद्यार्थी, अभिभावक एवं सरोकारवालाबाट प्राप्त हुने गुनासो सम्बोधन गर्न आग्रह गरिएको छ ।

त्यस्तै विदेशी सम्बन्धनका शिक्षण संस्थाले लिने शुल्क १५ दिनभित्र सार्वजनिक गर्न र मन्त्रालयमा समेत बुझाउन शिक्षा मन्त्रालयले निर्देशन दिएको छ । ‘विद्यार्थीबाट लिइने कार्यक्रमगत सबै प्रकारका शुल्क विवरण पारदर्शी रूपमा सबैले देख्ने गरी राख्ने र सोको प्रमाणित प्रति मन्त्रालयमा अनिवार्य रूपमा १५ दिनभित्र पेस गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ । मन्त्रालयले प्रति कक्षा रहने विद्यार्थी संख्या, कक्षागत सिकाइ क्रियाकलाप समेत सार्वजनिक गर्न भनेको छ ।

शिक्षण संस्थालाई अनुमति दिइएका विषय, तह र अवधिका कार्यक्रम निर्धारित स्थानमा मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ । विद्यार्थीलाई पारदर्शी र निष्पक्ष तरिकाले छात्रवृत्ति उपलब्ध गराउनुपर्ने र सोको विवरण मन्त्रालयमा पठाउन ताकेता गरिएको छ । विषयगत दक्षता र योग्यता पुगेका शिक्षकलाई मात्र पठनपाठनमा संलग्न गराउन निर्देशन दिइएको छ ।

कान्तिपुर

Link copied successfully