विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक भोजराज जोशीले एक विज्ञप्ति जारी गर्दै उपकुलपति नेपाल, उपप्रशासक खिमबहादुर केसी र उपकुलपतिका स्वकीय सचिव चोलेन्द्र रिजालमाथि सुनियोजित आक्रमण भएको भन्दै खेद व्यक्त गरेका छन्।
काठमाडौँ — नेपाल संस्कृत विश्वविद्यालयले अनधिकृतरुपमा विश्वविद्यालय परिसरमा प्रवेश गरी उपकुलपति प्रा. डा धनेश्वर नेपाल लगायतमाथि सुनियोजितरुपमा भएको आक्रमणको निन्दा गरेको छ।
विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक भोजराज जोशीले एक विज्ञप्ति जारी गर्दै उपकुलपति नेपाल, उपप्रशासक खिमबहादुर केसी र उपकुलपतिका स्वकीय सचिव चोलेन्द्र रिजालमाथि सुनियोजित आक्रमण भएको भन्दै खेद व्यक्त गरेका छन्।
उनले विश्वविद्यालयजस्तो पवित्र मन्दिरमा कार्यरत पदाधिकारी र कर्मचारीहरूमाथि दुर्व्यवहार र आक्रमण हुनु अस्वभाविक भन्दै आवश्यक सुरक्षा प्रबन्ध व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। घटनाका विषयमा समीक्षा गर्न बेलझुण्डीमा विश्वविद्यालयको भेला नै बसेको थियो। भेलाले उक्त घटनाप्रति गम्भीर खेद प्रकट गर्दै निन्दा व्यक्त गरेको हो। उपकुलपति नेपालसहितलाई पुस ६ गते बिहान ८ बजेतिर नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले मोसो दलेको थियो ।
शिक्षाध्यक्ष जोशीले विज्ञप्तिमार्फत् भनेका छन्, 'विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपाल र कुलसचिव प्रा. गाधव अधिकारीको नाम उल्लेख गरी अनेरास्ववियू (क्रान्तिकारी) लुम्बिनी प्रदेश समितिले मिति २०८२ पौष ६ गतेको विज्ञप्तिमार्फत लगाएका सबै आरोपहरू नितान्त कपोलकल्पित, प्रमाणहीन र अयथार्थ रहेका छन्। हामी सम्बद्ध सबै पक्षलाई कुनै पूर्वाग्रह, मिथ्या सूचना र स्वार्थी तत्त्वले उपलब्ध गराएका स्रोतमा भर नपरी सत्य र सही सूचनाका आधारमा विश्वविद्यालय र यसका पदाधिकारीका बारेमा धारणा निर्माण गर्न साथै प्राज्ञिक संस्थाको प्राज्ञिक मूल्य र मर्यादा कायम राख्ने कार्यमा सहयोगी भूमिका खेलिदिन अनुरोध गर्दछौं।'
