महाधिवेशनका क्रममा उनी एमालेका केन्द्रीय सदस्यका उम्मेदवार लिलानाथ श्रेष्ठका लागि मत मागिरहेको तस्बिर नरहा गाउँपालिकाका अध्यक्ष रामप्रमोद यादवले फेसबुकमा सार्वजनिक गरेका छन् ।
What you should know
सिरहा — जेनजी आन्दोलनपश्चात् बनेको नयाँ सरकारका शिक्षामन्त्री महावीर पुनले कुनै पनि सरकारी शिक्षक राजनीतिक दलका गतिविधिमा संलग्न भएको पाइए बर्खास्तीसम्मको कारबाही गर्ने चेतावनी दिँदै आएका छन् । शिक्षा मन्त्रालयले पनि पटक–पटक यस्तै चेतावनी दिँदै आएको छ ।
तर, त्यसको बेवास्ता गर्दै सिरहाका एक सरकारी शिक्षक काठमाडौंमा जारी नेकपा एमालेको महाधिवेशनमा सहभागी भएको पाइएको छ । सिरहाको धनगढीमाई नगरपालिका–१२ स्थित तुलसीराम सत्यभामा डोटेल माध्यमिक विद्यालयका शिक्षक किशोर साह विद्यालय छाडेर एमाले महाधिवेशनमा गएका हुन् ।
महाधिवेशनका क्रममा उनी एमालेका केन्द्रीय सदस्यका उम्मेदवार लिलानाथ श्रेष्ठका लागि मत मागिरहेको तस्बिर नरहा गाउँपालिकाका अध्यक्ष रामप्रमोद यादवले फेसबुकमा सार्वजनिक गरेका छन् । विद्यालयका प्रधानाध्यापक चन्द्रनारायण चौधरीले शिक्षक साह २८ गतेदेखि विद्यालय नआएको बताए ।
चौधरीका अनुसार उनले २८, २९ र १ गते गरी तीन दिनका लागि बिदा लिएर निस्किएका थिए । तर, आजदेखि विद्यालय आउनुपर्ने भए पनि उनी अझै अनुपस्थित छन् ।
‘बिदा लिएर को कहाँ जान्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन, फोटो आएपछि मात्रै हेरेँ,’ प्रधानाध्यापक चौधरीले भने, ‘आजदेखि विद्यालय आउनुपर्ने हो, तर आएका छैनन् ।’
शिक्षक साह एमाले महाधिवेशनमा गएर प्रचारप्रसारमा संलग्न भएको दृश्य सामाजिक सञ्जालमा आएपछि नगरपालिकाले विद्यालयसँग जवाफ माग गरेको छ ।
‘मैले त्यो फोटो देखेपछि तुरुन्तै विद्यालयका प्रधानाध्यापकलाई फोन गरेर जवाफ मागेको छु,’ धनगढीमाई नगरपालिकाका शिक्षा प्रमुख हरिनारायण सिंहले भने, ‘विद्यालयले बुझाइरहेको होला ।’
यता, शिक्षक साह भने आफू काठमाडौं आएको स्वीकार गरे पनि एमालेको महाधिवेशनमा नगएको दाबी गर्छन् । फोटो सार्वजनिक भएको विषयमा कान्तिपुरले सोधेको प्रश्नमा उनले भने, ‘नरहाका अध्यक्षले फोटो इडिट गरेर हालेका हुन्, तपाईँहरू यसलाई इस्यु नबनाउनुस् ।’
शिक्षक साह यसअघि पनि पटक–पटक विवादमा तानिँदै आएका छन् । उनी सामुदायिक विद्यालयमा शिक्षक हुँदाहुँदै राजनीतिक पहुँचको आडमा गैरकानुनी रूपमा गोलबजारस्थित रामप्रताप रामप्रसाद जनता बहुमुखी क्याम्पसको प्रमुख बनेर लामो समय काम गरेका थिए ।
क्याम्पस विवादमा परेपछि केही महिनाअघि मात्रै प्रमुख पदबाट हटाइएका साह अझै पनि सोही क्याम्पसमा कार्यरत छन् । तर, उनी राजनीतिक दलको कार्यक्रममा सहभागी हुँदा कुनै जानकारी नगराएको क्याम्पसले जनाएको छ ।
