रजिस्ट्रारका लागि १० जनाको आवेदन
What you should know
काठमाडौँ — सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पहिलो उपकुलपतिका लागि तेस्रो पटक आवेदन माग गर्दा केही दरखास्त परेको छ। उपकुलपति तथा रजिस्ट्रार छनोट तथा सिफारिस समितिका संयोजक जयराज अवस्थीले उपकुलपतिका लागि केही आवेदन परेको र त्यसको रुजु हुन बाँकी रहेको बताए।
समितिले मंसिर २८ गतेभित्र आवेदन पेस गर्न तेस्रो पटक सूचना जारी गरेको थियो। दुई पटकसम्म आवेदन नपरेपछि शिक्षा मन्त्री महावीर पुनले समेत उपकुलपति बन्न चाहने व्यक्तिलाई सामाजिक सञ्जालमार्फत आह्वान गरेका थिए।
‘उपकुलपतिका लागि केही आवेदन परेको छ। सिलबन्दी गरेर आवेदन दिएकाले खोलेका पनि छैनौं,’ उनले भने। ‘रजिस्ट्रारका लागि १० जनाको आवेदन परेको थियो। रुजु सकेर सर्टलिस्ट सार्वजनिक गर्ने तयारीमा छौं।’
सिफारिस समितिले उपकुलपतिका लागि कार्तिक १६ गते पहिलो पटक र कार्तिक ३० गते दोस्रो पटक दरखास्त आव्हान गरेको थियो। एउटा पनि दरखास्त नपरेपछि मंसिर २३ गते समितिले मंसिर २८ गतेसम्म दरखास्त पेस गर्न समय थप गरेको थियो।
‘उपकुलपति पदको दुई पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेन। त्यसैले मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्राध्यापक तथा विद्यावारिधी भई काम गरेको नेपाल आमाको कुनै इच्छुक देशभक्त सन्तान कृपया निवेदन दिनुहोस् वा मलाई नै सम्पर्क गर्नुहोस्,’ शिक्षामन्त्री पुनले सार्वजनिक रूपमा आह्वान गरेका थिए।
विश्वविद्यालय ऐनमा तोकिएको उपकुलपतिको योग्यता उपर्युक्त नभएको कारण दरखास्त नपरेको भन्दै सरोकारवालाले आलोचना गरेका छन्। संघीय संसदबाट पारित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन २०८२ गत असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए। त्यसपछि उपकुलपति, रजिष्ट्रार लगायत पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु भएको थियो।
उपकुलपतिका लागि न्यूनतम योग्यता यसप्रकार तोकिएको छ: चिकित्सा शिक्षासँग सम्बन्धित विषयमा विद्यावारिधि, डीएम, एमसीएच वा सो सरहको उपाधि प्राप्त भएको हुनुपर्ने; प्राध्यापक पदमा कम्तिमा १० वर्ष काम गरेको; उमेर ३५ वर्ष पूरा भई ६१ वर्ष नबढेको हुनुपर्ने।
रजिष्ट्रारका लागि चन्द्रप्रकाश भट्ट (ललितपुर), प्रमोदकुमार यादव (धनुषा), डबलबहादुर धामी (बझाङ), खेमराज जोशी (कञ्चनपुर), शिवप्रसाद सापकोटा (कैलाली), डमरु पनेरु (कञ्चनपुर), गोविन्द सिंह बिष्ट (बैतडी), शिला मैनाली (बारा), भिमबहादुर चन्द (बैतडी), पदमराज जोशी (कैलाली) को आवेदन परेको सिफारिस समितिले जनाएको छ। यीमध्येबाट सष्टलिष्ट बनाई सिफारिस प्रक्रिया अघि बढाइनेछ।
उपकुलपति र रजिष्ट्रार नियुक्तिको सिफारिसका लागि सरकारले अवस्थीको संयोजकत्वमा भारती जोशी र दीपक महरा सदस्य रहेको समिति गठन गरेको छ। अवस्थी सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति हुन् भने जोशी र महरालाई विज्ञ सदस्यका रूपमा नियुक्त गरिएको हो।
रजिस्ट्रारका लागि जुनसुकै विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने शैक्षिक योग्यता तोकिएको छ। उच्च शिक्षामा प्राध्यापन, प्राज्ञिक अनुसन्धान, स्वास्थ्य सेवा कार्यकारी प्रशासन, सरकारको पूर्वसचिव वा सो सरहको पदमा पाँच वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ। समितिले उपकुलपति र रजिस्ट्रार छनोट तथा सिफारिससम्बन्धी कार्यविधि जारी गरेर प्रक्रिया अघि बढाएको छ।
