पुस १० गते त्रिविको दीक्षान्त समारोह, १६ हजार विद्यार्थी सहभागी हुँदै

स्नातकदेखि विद्यावारिधिसम्मका करिब ८९ हजार विद्यार्थी दीक्षित हुँदैछन्, तर १८ प्रतिशतले मात्र दीक्षान्त समारोहमा सहभागी हुने इच्छा देखाएका छन्।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

TU's convocation ceremony on Poush 10, 16,000 students participating

What you should know

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह पुस १० गते काठमाडौंस्थित दशरथ रंगशालामा हुने भएको छ । समारोहमा १६ हजार ३ सय ३८ जना विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । आवेदन दिएर शुल्क बुझाएका विद्यार्थीलाई समारोहमा सहभागी गराइने परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जनाए ।

२०८१ असार १ देखि २०८२ जेठ मसान्तसम्म स्नातकदेखि विद्यावारिधिसम्मका शैक्षिक उपाधि प्राप्त गर्ने ८९ हजार १ सय ९१ विद्यार्थी दीक्षित हुने कार्यालयले जनाएको छ । समारोहमा सहभागी हुन भने उत्तीर्णमध्ये १८ दशमलव ३१ प्रतिशत छात्रछात्राले मात्र इच्छा देखाएका हुन् ।

सहभागी विद्यार्थीका लागि पुस १ गतेदेखि गाउन तथा स्कार्फ वितरण गरिने कार्यालयले जनाएको छ । गाउन, स्कार्फ, टोपीलगायत सामग्री पुस ८ गतेसम्म वितरण गरिने सूचना अधिकारी कविराज पौडेलले जानकारी दिए ।

दीक्षान्त समारोहमा सहभागी हुन अनलाइन आवेदन दिएका विद्यार्थीलाई बल्खुस्थित कार्यालयबाट पोसाक लिन आग्रह गरिएको छ । धरौटी रकम लिएर त्रिविले विद्यार्थीलाई दीक्षान्त समारोहमा लगाउने पोसाक वितरण गर्दै आएको छ ।

समारोहस्थल दशरथ रंगशालाबाट पोसाक वितरण नगरिने भएकाले पुस ८ गतेसम्म सार्वजनिक बिदाका दिनसमेत वितरण गरिने कार्यालयले जनाएको छ ।

काठमाडौंको मुख्य क्षेत्रमा एकै पटक हजारौँ विद्यार्थीको भिडभाड गराएर सवारी साधनलगायत सहर अस्तव्यस्त बनाएको भन्दै त्रिविको आलोचना हुँदै आएको छ । आलोचनापछि सङ्कायअनुसार छुट्टाछुट्टै स्थान र समयमा दीक्षान्त समारोह आयोजना गर्ने विषयमा त्रिवि कार्यकारी परिषद्मा छलफल पनि चलेको थियो ।

त्रिविका मेडिकल, इन्जिनियरिङ, विज्ञान तथा प्रविधि, वन, कृषि तथा पशु विज्ञान, व्यवस्थापन, मानविकी तथा सामाजिक विज्ञान र कानुन गरी ९ संकायमा स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडीसम्मका कार्यक्रम सञ्चालनमा छन् । उपकुलपतिमा दीपक अर्याल नियुक्त भएर आएपछि पहिले जस्तै एकै दिन एकै ठाउँमा दीक्षान्त समारोह गर्ने निष्कर्षमा त्रिवि पुगेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully