काठमाडौं विश्वविद्यालयका ८२ शिक्षक तथा कर्मचारी सम्मानित

विश्वविद्यालयबाट सेवानिवृत र विश्वविद्यालयमा २५ वर्षदेखि निरन्तर सेवा गरिरहेका कर्मचारी तथा शिक्षकहरुलाई सम्मान गरिएको थियो । 

मंसिर २५, २०८२

ज्योती श्रेष्ठ

82 teachers and employees of Kathmandu University honored

काभ्रे — जिल्लास्थित काठमाडौं विश्वविद्यालयका ८२ जना शिक्षक तथा कर्मचारी सम्मानित भएका छन् । काठमाडौं विश्वविद्यालयमा बिहीबार आयोजित ३४ औं वार्षिकाेत्सवको अवसरमा विश्वविद्यालयका ८२ जना शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको हो ।

विश्वविद्यालयबाट सेवानिवृत र विश्वविद्यालयमा २५ वर्षदेखि निरन्तर सेवा गरिरहेका कर्मचारी तथा शिक्षकहरुलाई सम्मान गरिएको थियो । 

२०७६ मंसिरदेखि हालसम्म विश्वविद्यालयबाट सेवानिवृत्त भएका २२ जना शिक्षक तथा कर्मचारीलाई मायाको चिनोसहित कदरपत्र प्रदान गरिएको थियो । त्यस्तै विश्वविद्यालयमा २५ वर्षदेखि निरन्तर सेवा गरिरहेका ६० जना शिक्षक तथा कर्मचारीलाई मायाको चिनोसहित सम्मानपत्रले सम्मान गरिएको हो ।

काठमाडौं विश्वविद्यालयको ७५८ कार्यपरिषद्‍को बैठकले दुई विधामा कदरपत्र र सम्मानपत्र प्रदान गर्ने कार्यलाई निरन्तरता दिने निर्णय गरेबमोजिम यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत वाग्लेले बताए । उनले संघ–संस्थामा रिक्त पदपूर्ति गर्ने प्रक्रिया कमजोर जनशक्ति उत्पादनका कारण चुनौतीपूर्ण बन्दै गएको बताए । उनका अनुसार, एउटै पदका लागि पटकपटक विज्ञापन निकाल्नु परेको उदाहरणले संस्थागत दक्षताप्रति प्रश्न उठाएको छ । 

कन्टेम्पोररी इकोसिस्टम गभर्नेन्सअन्तर्गत आवश्यक ‘इकोसिस्टम अन्डरस्ट्यान्डिङ’ कमजोर देखिएका कारण परीक्षामा सहभागीहरुको नतिजा सन्तुष्ट आउन नसकोको उनले बताए । योग्य दरखास्त नआएपछि मागअनुसार पदपूर्ति गर्न कठिनाई हुनु अहिलेको समस्या रहेको उनको भनाइ थियो । उनका अनुसार, विभिन्न स्थानीय नेतृत्व र चिनजानका व्यक्तिबाट सिफारिस तथा दबाब पर्ने प्रचलन अझै कायम छ ।

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully