उच्च शिक्षामा राजनीतिक हस्तक्षेप रोक्न प्रधानमन्त्री कुलपति बन्ने व्यवस्था हटाउनुपर्छ : प्रधानमन्त्री

दीक्षित भएका विद्यार्थीलाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो मुलुक हाम्रो हो। यो कसैले आएर बनाउँदैन ।’

मंसिर २४, २०८२

कान्तिपुर संवाददाता

The system of the Prime Minister becoming the Chancellor should be abolished to prevent political interference in higher education: Prime Minister

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले उच्च शिक्षामा भइरहेको राजनीतिकरणले विश्वविद्यालयको शैक्षिक वातावरण प्रभावित बनेको बताएकी छन्।काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन्।

उच्च शिक्षामा भइरहेको राजनीतिकरणका विषयमा बोल्दै उनले भनिन्, ‘शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको छ।’ उनले यही कुरा बुझेर सरकारले केही ठोस कदम चालेको पनि बताइन् ।

प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई बदल्न सरकार लागिपरेको बताउँदै उनले यस विषयमा सरोकारवालासँग शिक्षामन्त्रीले परामर्श गरिरहेको जानकारी दिइन् । ऐनमा संशोधन गरेर प्राज्ञिक व्यक्ति कुलपति हुने व्यवस्था कायम गर्ने प्रयास भइरहेको बताउँदै उनले भनिन्, ‘यस्तो व्यवस्थाले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप कम गर्नेछ ।’

उनले विदेशी विद्यार्थीलाई सहजै भिसा उपलब्ध गराउने विषयमा पनि सरकारले पहल गर्ने बताइन् ।
दीक्षान्त समारोहमा दीक्षित भएका विद्यार्थीलाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो मुलुक हाम्रो हो। यो कसैले आएर बनाउँदैन ।’ आफूले विद्यार्थीहरूलाई दिने आश्वासन धेरै नभएको बताउँदै उनले समुन्नत राष्ट्र बनाउन सबै विद्यार्थी लाग्नुपर्ने उल्लेख गरिन् ।

सम्बन्धित समाचार

शिक्षामन्त्रीले भनेझैं प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपतिबाट हटाउन सम्भव छ ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

कान्तिपुर

Link copied successfully