बुधबार आयोजित ३१औं दीक्षान्त (पहिलो चरण) २०८२ मा विश्वविद्यालयका २ हजार २०९ जना विद्यार्थी दीक्षित भएका हुन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी रहेका छन् ।
What you should know
काभ्रे — काठमाडौं विश्वविद्यालयका २ हजार २०९ जना विद्यार्थी दीक्षित भएका छन् ।
बुधबार आयोजित ३१औं दीक्षान्त (पहिलो चरण) २०८२ मा विश्वविद्यालयका २ हजार २०९ जना विद्यार्थी दीक्षित भएका हुन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी रहेका छन् ।
समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्ट्सका ८३, स्कुल अफ एजुकेसनका २९४, स्कुल अफ इन्जिनियरिङका ३४०, स्कुल अफ लका ३६, स्कुल अफ मेनेजमेन्टका ३७८, स्कुल अफ मेडिकल साइन्सेजका ८८१ र स्कुल अफ साइन्सका १९७ विद्यार्थी दीक्षित भए ।
दीक्षितमध्ये पीएचडी, डीएम र एमसीएच तहका ७ जना, स्नातकोत्तर तहका ३९७ जना, पीजीडी तहका ५० जना र स्नातक तहका १ हजार सात सय २८ जना रहेका छन् । पुरुष ५२.२४ प्रतिशत (१ हजार १ सय ५४ जना) र महिला ४७.७६ प्रतिशत (एक हजार ५५ जना) रहेका छन् ।
दीक्षितमध्ये अस्ट्रेलिया, अस्ट्रिया, बंगलादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलंका, स्विडेन, संयुक्त राज्य अमेरिका र भियतनाम गरी १७ देशका १९६ जना विदेशी छन् ।
समारोहलाई सम्बोधन गर्दै काठमाडौं विश्वविद्यालयकी कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा उच्च शिक्षामा सुधार गर्न आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘लगानी वृद्धिसँगै उच्च शिक्षाको गैरराजनीतिकरण अहिलेको टड्कारो आवश्यकता हो, शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर हामीले केही ठोस कदमहरु चालेका छौं ।’
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत वाग्लेले केयूले हिमालयन युनिभर्सिटी कन्सोर्टियमको सचिवालय आफ्नो मातहत ल्याउने तयारी गरेको बताए । उनका अनुसार हिन्दकुश–हिमालय क्षेत्रका र बाहिरका १०० भन्दा बढी विश्वविद्यालयहरुको सञ्जाल, हिमालयन युनिभर्सिटीज कन्सोर्टियमको सचिवालय केयुमा हस्तान्तरण तथा स्थापना हुँदैछ । यसबाट केयूको अन्तर्राष्ट्रियकरण अभियान थप सुदृढ हुने र अनुसन्धानका लागि नयाँ उचाइमा पुर्याउने विश्वविद्यालयको विश्वास रहेको उनले बताए ।
नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्रा. शान्तीश्री धुलिपुडी पण्डितले निरन्तर सिकाइ र अनुकूलनशीलता अपनाउनु नै व्यक्तिको दीर्घकालीन विकास र सफलताको मूल आधार रहेको बताइन् । डिग्रीले प्रमाणित गर्ने ज्ञान केवल एउटा क्षणको अवस्था हो भने वास्तविक सिकाइ भने जीवनभर जारी रहने प्रक्रिया रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री तथा कुलपति कार्कीको अध्यक्षतामा आयोजित समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुन तथा नयाँ दिल्लीस्थित जवाहरलाल–नेहरू विश्वविद्यालयका उपकुलपति प्राध्यापक शान्तिश्री धुलिपुडी पण्डितको सहभागिता रहेको थियो ।
