केन्द्रीय प्राविधिक क्याम्पसमा १ महिनादेखि विद्यार्थीको धर्ना

स्ववियु सभापति पेशलराज कार्कीको नेतृत्वमा उनीहरुले दैनिक बिहान १० बजेदेखि क्याम्पसको मुख्य गेटमा एक घण्टा धर्ना बस्दै आएका छन् ।

मंसिर १७, २०८२

एलिना राई

Students' sit-in at Central Technical Campus for a month

What you should know

धरान — धरानस्थित केन्द्रीय प्राविधिक क्याम्पस, हात्तीसारमा शैक्षिक तथा प्रशासनिक सुधारको माग गर्दै विद्यार्थीहरूले थालेको धर्ना १ महिना पूरा भएको छ । 

स्ववियु सभापति पेशलराज कार्कीको नेतृत्वमा उनीहरुले दैनिक बिहान १० बजेदेखि क्याम्पसको मुख्य गेटमा एक घण्टा धर्ना बस्दै आएका छन् । विद्यार्थीहरूले गत कात्तिक १७ देखि क्याम्पसमा भइरहेका अव्यवस्थापन, कमजोर शैक्षिक वातावरण र पारदर्शिताको अभावले भविष्य नै संकटमा परिरहेको भन्दै आन्दोलन सुरु गरेका थिए । 

सभापति कार्कीका अनुसार, संकाय दर्ता, शैक्षिक गुणस्तर, आर्थिक पारदर्शिता, क्याम्पस व्यवस्थापन र स्वास्थ्य बीमामा भएको अनियमितताका कारण विद्यार्थीहरू मारमा परिरहेका छन् जसका कारण आन्दोलन गर्न बाध्य भएको हो । 

क्याम्पसमा वर्षौंदेखि सञ्चालित बीएससी माइक्रोबायोलोजी र बीएससी न्यूट्रिशन एण्ड डाइटेटिक्स संकाय नेपाल हेल्थ प्रोफेसनल काउन्सिलमा अहिलेसम्म दर्ता हुन नसक्दा विद्यार्थीहरूको भविष्य अन्योलमा परेको उनीहरुको भनाइ छ । 

२०६७ सालदेखि टियुअन्तर्गत सञ्चालनमा आएको न्यूट्रिशन एण्ड डाइटेटिक्स संकाय १५ वर्ष बितिसक्दा पनि काउन्सिल मान्यता नपाउँदा विद्यार्थीलाई लाइसेन्स परीक्षा, सरकारी रोजगारी तथा अन्य पेसागत अवसर गुम्न पुगेको आन्दोलनकारीहरूको आरोप छ । यो संकायहरु नेपाल हेल्थ प्रोफेसनल काउन्सिलमा दर्ता हुनु पर्ने उनीहरुको माग छ । 

यस्तै स्वास्थ्य बीमाका नाममा विद्यार्थीबाट लिइएको ५०० रूपैयाँको शुल्कबारे कुनै सेवा सुविधा नदिइएको र बीमाका रूपमा कहाँ, कसरी सुविधा पाइन्छ भन्ने स्पष्ट नभएकाले सो रकम बिनासर्त फिर्ता गर्नुपर्ने विद्यार्थीहरूको भनाइ छ । वर्षौंदेखि यस विषयमा आवाज उठाए पनि क्याम्पसले बेवास्ता गरेपछि आन्दोलनमा उत्रिनु परेको सभापति कार्कीले बताए । उनले माग पूरा नभए आन्दोलनलाई थप कडा बनाउने चेतावनी दिएका छन् ।

क्याम्पस प्रमुख प्राध्यापक बसन्तकुमार राईले विद्यार्थीले उठाएको माग क्याम्पसको हितमा नै भएकोले बारम्बार संवादमा बोलाए पनि नआएको बताए । ‘हामीले सक्ने माग पूरा गर्ने भनेकै छौं । क्याम्पसका बेतिथिहरु हृोलान् तर तत्कालै त्यसलाई सुधार गरी रिजल्ट निकाल्न नसकिए पनि हामी क्याम्पस सुधार र व्यवस्थापनमा लागिपरेका छौं,’ उनले भने ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully