शिक्षामन्त्री पुनले व्यवस्थापन समिति गठन नगरेका विद्यालयले प्राप्त गर्ने संघीय अनुदान रोक्का गर्ने चेतावनी पनि दिएका छन् ।
काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालयमा व्यवस्थापन समिति गठन गर्न स्थानीय तहलाई ताकेता गरेका छन् । शिक्षामन्त्री पुनले व्यवस्थापन समिति गठन नगरेका विद्यालयले प्राप्त गर्ने संघीय अनुदान रोक्का गर्ने चेतावनी पनि दिएका छन् ।
व्यवस्थापन समिति गठन नगर्ने स्थानीय तह र विद्यालयको नामवली संकलन भइरहेको उनको भनाई छ । ‘विद्यालय व्यवस्थापन समिति गठन नगरी मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिका पनि रहेछन् । त्यस्ता पालिकाहरूलाई नियामानुसार तुरुन्त समिति गठन गर्न सूचना जारी गरिएको छ । अन्यथा त्यस्ता पालिकाहरुको विद्यालयलाई आउने संघीय अनुदान रोक्का गरिनेछ,’ मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यस्ता पालिकाहरूको नाम संकलन भइरहेको छ । पीडित अभिभावकहरूले पनि जानकारी दिन सक्नुहुनेछ ।’
शिक्षा ऐनले विद्यालयमा व्यवस्थापन समिति रहने व्यवस्था गरेको छ । कतिपय स्थानीय तहले व्यवस्थापन समिति गठनमा आफूखुसी गरेको गुनासो छ । केही स्थानीय तहले वडाध्यक्षले व्यवस्थापन समितिको अध्यक्ष रहने व्यवस्था गरेपछि सर्वोच्च अदालतले समेत त्यसो नगर्न आदेश दिइसकेको छ ।
