प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा कीर्तिपुरमा बसेको बैठकमा उपकुलपति दीपक अर्यालले नीति तथा कार्यक्रम पेस गरेका थिए ।
काठमाडौँ — त्रिभुवन विश्वविद्यालय सभा (सिनेट) बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम बुधबार पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा किर्तिपुरमा बसेको बैठकमा उपकुलपति दीपक अर्यालले नीति तथा कार्यक्रम पेस गरेका थिए ।
नीति तथा कार्यक्रममा विश्वविद्यालयको जग्गा जमिन सरक्षण गर्न तारबाा र घेराबार गर्ने, अतिक्रमण गर्नेलाई सरकार र सरकारका निकायमार्फत कारबाही गरिने, काठमाडौंबाहिरका जग्गा खोजबिन गर्न समिति गठन गरिने उल्लेख छ । क्याम्पसहरूको समेत जग्गा जमिन खोजी गर्ने त्रिविले जनाएको छ ।
प्राध्यापक कर्मचारीलाई सेवा प्रवेश तालिम अनिवार्य गरिने, विदेशमा रहेका नेपालीलाई अनलाइन कक्षा सञ्चालन गर्ने, शैक्षिक प्रमाणपत्र प्रदेश स्थिति परीक्षा नियन्त्रण कार्यालयबाट वितरण गर्ने जनाइएको छ । उपकुलति अर्यालले विश्वविद्यालय र परीक्षा प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लैजाने घोषणा गरे । नयाँ विषय र कार्यक्रममा सम्बन्धन वितरण गर्ने र थोरै विद्यार्थी भएका क्याम्पस र कार्यक्रम समायोजन गरिने उनले जनाए ।
त्रिविसहित अनुसन्धान निर्देशनालयलाई पुनर्संरचना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । उत्कृष्ट अनुसन्धान गर्ने प्राध्यापक र अनुसन्धानकर्तालाई पुरस्कृत गरिने नीति त्रिविले लिएको छ । अनुसन्धान कोषको रकम पनि बढाइने जनाइएको छ । 'त्रिविमा विदेशी विद्यार्थीको भर्ना प्रक्रिया सहज बनाई सख्या वृद्धि गरेर अनुसन्धानमा जोड दिइनेछ,' उनले भने ।
