त्रिविले नयाँ विषयको सम्बन्धन बाँड्ने, विद्यार्थी थोरै भएका क्याम्पस गाभ्ने

विगत दुई शैक्षिक सत्रदेखि न्यून विद्यार्थी संख्या भएका क्याम्पसका कार्यक्रमहरू आगामी शैक्षिक सत्रदेखि गाभिने प्रक्रिया अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ।

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

TU to share affiliations for new subjects, merge campuses with fewer students

What you should know

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले नयाँ विषय र कार्यक्रम सञ्चालनका लागि आङ्गिक र निजी क्याम्पसलाई सम्बन्धन बाँड्ने नीति तथा कार्यक्रम अघि सारेको छ भने विद्यार्थी संख्या कम्ती रहेका क्याम्पसहरूलाई समायोजन गर्ने भएको छ ।

त्रिविको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा आङ्गिक र सम्बन्धन प्राप्त (निजी, सामुदायिक) क्याम्पसमा आवश्यकताअनुसार कार्यक्रम तथा विषय थपको प्रक्रिया अगाडि बढाउने उल्लेख छ ।

त्यस्तै विगत दुई शैक्षिक सत्रदेखि न्यून विद्यार्थी संख्या भएका क्याम्पसका कार्यक्रमहरू आगामी शैक्षिक सत्रदेखि गाभिने प्रक्रिया अगाडि बढाउने जनाइको छ । काठमाडौँ उपत्यका र बाहिरका क्याम्पसहरू समायोजन हुने नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारको नीति तथा कार्यक्रममा पनि उक्त व्यवस्था समावेश थियो । विश्वविद्यालय अनुदान आयोगले समायोजन हुने क्याम्पसलाई आर्थिक सहयोग गर्ने कार्यक्रम नै अघि सारेको छ ।

त्रिविले पाठ्यक्रमलाई परिमार्जन र पुनरावलोकन पनि गर्ने भएको छ । ‘त्रिविका विभिन्न निकायहरूबाट सञ्चालित शैक्षिक कार्यक्रमहरूको विषय र पाठयक्रमहरुको पुनरावलोकन गरिनेछ । स्नातक, स्नातकोत्तर, अधिस्नातक, दर्शनाआचार्य (एमफिल) तथा विद्यावारिधि (पिएचडी) कार्यक्रमको अध्ययन, अध्यापन र अनुसन्धान कार्यका लागि मौजुदा पाठ्यक्रमलाई विश्व बजार सुहाउँदो समायकुल, समसामयिक र प्रयोगमुखी बनाई पुनरावलोकन तथा परिमार्जन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

अन्तर विश्वविद्यालय र विदेशी विश्वविद्यालय तहमा क्रेडिट ट्रान्सफर गर्ने नीति तथा कार्यक्रम अघि सारिएको छ । विदेशी विश्वविद्यालय र अनुसन्धान केन्द्रसँग सहकार्यमा काम गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । बुधवार नीति तथा कार्यक्रम पारित गर्न त्रिवि सभा (सिनेट) बैठक कीर्तिपुरस्थित स्मृति हलमा बस्दै छ ।

कान्तिपुर

Link copied successfully