त्रिविमा रहेको राजनीतिक भागबन्डामाथि मन्त्री पुनको व्यंग्य : महादेव आए पनि भागबन्डा अन्त्य होला जस्तो देखिँदैन
What you should know
काठमाडौँ — शिक्षामन्त्री महावीर पुनले त्रिविको जग्गा खोजबिनसम्बन्धी प्रतिवेदन कार्यान्वयन हुने बताएका छन् । बुधबार त्रिवि सभा बैठकमा बोल्दै उनले प्रतिवेदन कार्यान्वयन गरेसँगै राजनीतिक भागबन्डा अन्त्य गरेर विश्वविद्यालयको सुधार गर्नुपर्ने जनाए ।
त्रिवि नीति तथा कार्यक्रममा पनि प्रतिवेदन कार्यान्वयन गर्ने उल्लेख छ । करिब २५ रोपनी जग्गा हिनामिनासम्बन्धी प्रतिवेदनका आधारमा अख्तियारले छानबिन थालेको छ ।
मन्त्री पुनले त्रिविका ४ वटा अनुसन्धान केन्द्रलाई सक्रिय बनाउनु पर्ने बताए । 'अनुसन्धान केन्द्रले गर्ने काम बाहिरका कनसल्टेन्सीले गरेपछि संकटमा परेको रहेछ । हेलामा परेको हो । अब बजेट छुट्याएर अनुसन्धानमा सक्रिय बनाउनु पर्छ,' उनले भने ।
विश्वविद्यालयले प्राज्ञिक र प्रविधिसँग जोडिएका अनुसन्धानमा जोड दिनुपर्ने शिक्षामन्त्री पुनको सुझाव छ । आविष्कारजन्य अनुसन्धान नभएसम्म देशको अर्थतन्त्रमा सुधार नहुने उनको भनाइ छ । युवाहरूलाई अनुसन्धानमा सहभागी गराएर उत्पादन गर्नु पर्नेमा उनले जोड दिए । त्रिविलाई शैक्षिक क्यालेन्डर कडाइपूर्वक लागू गर्नसमेत उनले निर्देशन दिए । उनले भने, 'समयमा परीक्षा नभएको, परीक्षा भए पनि नतिजा नपाएको, प्रमाणपत्र लिन झन्झटिलो रहेको गुनासो व्यापक छ । सुधार गर्नु होला ।'
त्रिवि वातावरण नै राजनीतिक भागबन्डाले बिग्रिएको उनको भनाइ छ । 'महादेव आए पनि भागबन्डा अन्त्य होला जस्तो देखिँदैन । सबै मिलेर हटाऔँ । महादेवलाई किन दु:ख दिने ? बिग्रेको राजनीतिक भागबन्डाले हो,' उनले भने ।
त्रिवि परिसरमा रहेका झाडी फाडेर पार्क बनाउने आफ्नो योजना रहेको उनले सुनाए । 'म मन्त्री भएपछि २९ दिन लगाएर झाडी फाँडियो, अब पार्क बनाउनुपर्छ,' उनले भने ।
