बुधवार त्रिवि सभामा पेस हुने नीति तथा कार्यक्रममा प्रयोगात्मक कक्षा नहुने विषय क्याम्पसमार्फत् अनलाइन माध्यमबाट पढाउने व्यवस्था गर्ने उल्लेख छ ।
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले विदेशमा रहेका नेपालीलाई अनलाइनबाट पढ्न पाउने व्यवस्था गर्ने भएको छ। बुधवार त्रिवि सभामा पेस हुने नीति तथा कार्यक्रममा प्रयोगात्मक कक्षा नहुने विषय क्याम्पसमार्फत् अनलाइन माध्यमबाट पढाउने व्यवस्था गर्ने उल्लेख छ ।
विदेशबाट अनलाइन पढ्ने विद्यार्थीहरूको परीक्षा नेपाली दुतावाससँगको सहकार्यमा भौतिक उपस्थितिमा नै सञ्चालन हुने जनाइएको छ ।
अध्ययन पुरा गरी शैक्षिक उपाधि सहित स्वदेश फर्किँदा नेपाली नागरिकलाई आर्थिक र शैक्षिक गरी दोहोरो लाभ मिल्ने त्रिविले जनाएको छ । नेपाल खुला विश्वविद्यालयले स्वदेश र विदेशमा रहेका विद्यार्थीलाई अनलाइनबाट पठनपाठन र अनलाइनबाटै परीक्षा दिने व्यवस्था गर्दै आएको छ। कोभिड महामारीका बेला अन्य विश्वविद्यालयमा पनि अनलाइन पठनपाठन र परीक्षाको व्यवस्था गरिएको थियो ।
बुधवार ११ बजे प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा बस्ने त्रिवि सभा (सिनेट) बैठकमा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पेस हुनेछ । मंगलबार प्रि–सिनेटले नीति तथा कार्यक्रममा माथि छलफल गरिसकेको छ । त्यस्तै नीति तथा कार्यक्रमअनुसार त्रिविको ब्रान्ड प्रवर्द्धन र आर्थिक आर्जनका लागि लोगो अंकित विभिन्न सामग्री उत्पादन गरिने भएको छ ।
स्मारिका, उपहार, उपकरण, लत्ताकपडा आदि उत्पादन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । विश्वविद्यालयका विभिन्न अध्ययन संस्थान, संकाय, क्याम्पस, विभाग, निकायहरू र आत्मनिर्भर कार्यक्रममा प्रदान गरिदैं आएको शिक्षक र कर्मचारीको सुविधालाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरी एकरूपता ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
