अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रसाईंसहित सहपरीक्षा नियन्त्रक छनोट समितिका संयोजक जयालक्ष्मी प्रधान र सदस्य मोतिलाल शर्मा र मेघराज पोखरेलविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
What you should know
काठमाडौँ — त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल विराटनगर सह-परीक्षा नियन्त्रक डिल्लीराम प्रसाईंसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रसाईंसहित सहपरीक्षा नियन्त्रक छनोट समितिका संयोजक जयालक्ष्मी प्रधान र सदस्य मोतिलाल शर्मा र मेघराज पोखरेलविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आफूसँग नभएको योग्यता पीएचडी (विद्यावारिधि) पाएको भनी विवरण पेस गरी लाभ लिएको आरोपमा प्रसाइविरुद्ध अनुसन्धान हुँदा उनीसहित अरु दुई जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
त्रिभुवन विश्वविद्यालय, रजिष्ट्रारको कार्यालय, कीर्तिपुर काठमाडौंले सहपरीक्षा नियन्त्रक छनोट समितिको परीक्षामा प्रसाईंले हुँदै नभएको योग्यताका विवरण पेस गरेका थिए । गत वर्ष भदौमा त्रिविले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका लागि एकजना सहपरीक्षा नियन्त्रकको आवेदन खुलाएको थियो । त्यसमध्ये ६ जना आवेदकले दरखास्त पेस गरेकामा पद्मकन्या कयाम्पसका प्रधान, त्रिवि रसायनशास्त्र विभागका शर्मा र पोख्रेल रहने गरी तीन सदस्यीय छनोट समिति गठन भएको थियो । जसमा समितिले पोखरेललाई छनोट गरी नियुक्ति गरेपछि गैरकानुनी सिफारिस भन्दै अख्तियारमा उजुरी परेको थियो । त्यसपछि अनुसन्धान हुँदा प्रसाईंले पेस गरेको विद्यावारिधि फर्जी भेटिएपछि सिफारिस समितिका तीन र प्रसाईंविरुद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।
समितिले प्रसाईंलाई विद्यावारिधि बापतको अंकसमेत दिएको भेटिएपछि यो विषयमा अनुसन्धान भएको थियो । प्रसाईं स्वयंलाई विद्यावारिधिसम्पन्न नभएको तथ्य थाहा हुँदाहुँदै विद्यावारिधिको प्रोभिजनल प्रमाणपत्र प्राप्त नगरी निजले बदनियत चिताई विद्यावारिधिबापत पाएको अख्तियारले जनाएको छ ।
´कार्यालयको क्यालेन्डर र नेम प्लेट समेतमा डा. डिल्लीराम प्रसाईं लेख्ने गरेको खुल्न आएको देखिएकोबाट राष्ट्रसेवक निजले आफूसमेतलाई लाभ लिने बदनियत राखी आफूले प्राप्त नै नगरेको विद्यावारिधि पद, चिह्न, निस्सा पाएँ भनी प्रयोग प्रचलनमा ल्याएको र प्रयोगमा ल्याउन दरखास्त फारामसाथ पेस गरेको तथा प्रयोगमा लगाएको र विद्यावारिधिको नपाएको ओहदा पाएको भनी प्रयोगमा ल्याएको तथ्य स्थापित हुन आयो,´ आरोप पत्रमा छ, ´उक्त सहपरीक्षा नियन्त्रक छनोट समितिका संयोजक प्राडा जया लक्ष्मी प्रधान, सदस्यहरु प्रा.डा. मोतिलाल शर्मा र प्रा.डा. मेघराज पोख्रेलले त्रिभुवन विश्वविद्यालयमा परीक्षाको परिणाम गणना गरी नियुक्तिको सिफारिस गर्नुपर्नेमा सहपरीक्षा नियन्त्रक पदका आवेदक निज डिल्लीराम प्रसाईंसँगको मिलेमतो तथा योजनामा बदनियत राखी परीक्षाको परिणाम फेरबदल गरी गराई सहपरीक्षा नियन्त्रक पद ओहोदा, हैसियत, सुविधा प्राप्त गर्ने गरी बदनियतपूर्वक भए गरेका कुरा लुकाइछिपाई वा नभए/नगरेका कुरा देखाई सोही झुट्टा विवरणको आधारमा नियुक्तिका लागि गलत प्रतिवेदनसहित सिफारिस गरे गराएकोमा सोही गलत प्रतिवेदनको आधारमा नियुक्ति गरेको तथ्य स्थापित भएकोले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमका कसूर भएको हुँदा निज प्रतिवादीहरु बिरुद्ध आरोपपत्र दायर गरियो ।´
