तिलेश्वर माविमा १८ लाखको अक्षय कोष 

विभिन्न समयमा विद्यालयमा अध्ययन र अध्यापन गरेका पूर्वशिक्षक, विद्यार्थी तथा सामाजिक अगुवाले विद्यालयका लागि नगद र जग्गा जमिनसमेत दानस्वरुप उपलब्ध गराएका हुन् ।

मंसिर ९, २०८२

कान्तिपुर संवाददाता

Revolving fund of Rs. 1.8 million at Tileshwor Secondary School

What you should know

धनकुटा — पूर्वविद्यार्थी, शिक्षक र सामाजिक अगुवाको पहलमा छथरजोरपाटी-४ को तेलियामा संचालित तिलेश्वर माध्यमिक विद्यालयमा १८ लाख रुपैयाँको अक्षय कोष निर्माण भएको छ । 

विभिन्न समयमा विद्यालयमा अध्ययन र अध्यापन गरेका पूर्वशिक्षक, विद्यार्थी तथा सामाजिक अगुवाले विद्यालयका लागि नगद र जग्गा जमिनसमेत दानस्वरुप उपलब्ध गराएका हुन् । साविक तेलिया र तांखुवा गाविसमा जन्मिएर व्यवसाय, रोजगारीका लागि विभिन्न स्थानमा रहेका तथा बसाइँ सरेर गएकाहरुले समेत विद्यालयको अक्षय कोषमा योगदान गरेको तिलेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक गंगा तामाङले जानकारी दिए । 

विद्यालयले संचालनमा ल्याएको अक्षय कोषका लागि तत्कालीन तेलिया गाविसस्थित पिप्लेका रायमाझी परिवारले सबैभन्दा बढी १० लाख रुपैयाँ रकम उपलब्ध गराएका छन् । टेकेन्द्र, छत्र, महेन्द्र, ज्ञानेन्द्र केशव, तीर्थ र प्रदीप रायमाझीले आफ्ना बाबुआमा तुलसीबहादुर तथा गोकुलकुमारी रायामाझीको सम्झनामा १० लाख रुपैयाँको छात्रवृत्ति कोषमा खडा गरिदिएका हुन् । यसबाट आउने ब्याजबाट विद्यालयले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा कक्षा १० मा सर्वोत्कृष्ट हुने छात्रछात्रालाई प्रोत्साहन स्वरुप २२ हजार रुपैयाँ प्रदान गर्दै आएको छ । 

यस्तै शंकर अधिकारीले चन्दा गजेन्द्र छात्रवृत्ति कोषमा ५ लाख रुपैयाँ उपलब्ध गराएका छन् । उक्त रकमबाट वार्षिक रुपमा आउने ३० हजार ब्याज विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न, जेहेन्दार र अपांगता भएका छात्रछात्रालाई वितरण गरिँदै आएको छ । २ लाख ४६ हजार रुपैयाँको बमबहादुर लिलामाया थापा छात्रवृत्ति कोषबाट आउने ब्याजले कक्षा ५ सम्मका बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको तिलेश्वर माविका प्रधानाध्यापक तामाङले जानकारी दिए । 

पूर्वशिक्षक धर्मध्वज लिम्बुले पनि रमादेवी छात्रवृत्ति अक्षय कोष ५० हजार रुपैयाँ उपलब्ध गराएका छन् । पाँचजना दाता र विद्यालयको संचित कोषसमेत गरेर २७ लाख ९० हजार रुपैयाँको अचलकोष तयार भएको तामाङको भनाइ छ । 

दुर्गममा जन्मिएर पेसा, व्यवसायको सिलसिलामा विभिन्न स्थानमा पुगेका स्थानीयले पुरानो विद्यालयलाई संझिएको भन्दै तामाङले खुसी व्यक्त गरे । विद्यालयले मंसिर ८ गते आफ्नो स्थापनाको ७४ औं दिवस मनाएको छ । वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुलाई छात्रवृत्ति र दाताहरुलाई अभिनन्दनसमेत गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर तामाङले जानकारी दिए । 

कान्तिपुर संवाददाता

Link copied successfully