पूर्वी नवलपरासीका २१ वटा विद्यालयलाई फुटबल हस्तान्तरण

१ हजार ७२ विद्यालयमा २५ हजार बढी फुटबल वितरण गरिने  

कार्तिक २१, २०८२

नवीन पौडेल

Footballs handed over to 21 schools in eastern Nawalparasi

नवलपुर — पूर्वीनवलपरासीमा फुटबल गतिविधि बढाउन र विद्यालय तहबाट नै खेलाडी उत्पादन गर्ने उद्देश्यले जिल्लाका २१ वटा सामुदायिक विद्यालयलाई फुटबल प्रदान गरिएको छ । 

अखिल नेपाल फुटबल संघ एन्फाको ‘फुटबल फर स्कुल’ कार्यक्रमअन्तर्गत जिल्लाका २१ वटा विद्यालयलाई बीस बीस वटाका दरले फुटबल वितरण गरिएको जिल्ला फुटबल संघ नवलपुरका कार्यवाहक अध्यक्ष मेघराज पाण्डेले बताए । 

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङले विद्यालयका प्रतिनिधिहरूलाई फुटबल हस्तान्तरण गरेका थिए । फुटबल हस्तान्तरण गर्दै अध्यक्ष नेम्वाङले विद्यालय तहबाट नै फुटबलप्रति बालबालिकाको आकर्षण बढाउन र फुटबल गतिविधि बढाउन यो कार्यक्रम सञ्चालन गरिएको बताए । 

कार्यक्रमबाट देशभरका ७७ जिल्लाका करिब १ हजार ७२ विद्यालयमा २५ हजार बढी फुटबल वितरण गरिने छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा सञ्चालन गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनले बताए ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully