जुम्लामा सम्भोट लिपिको पढाइ

अहिले १६ जना विद्यार्थीले यो लिपिको अध्ययन गरिरहेका छन् । दुई जना शिक्षक छन् । दिउँसो विद्यालयमा अध्ययन भइरहेकोमा यहाँ बिहान र बेलुकी पठनपाठन भइरहेको छ ।

कार्तिक ४, २०८२

डीबी बुढा

Reading the Sambhot script in Jumla

What you should know

जुम्ला — जुम्लामा पहिलोपटक सम्भोट लिपिको पढाइ सुरु भएको छ । बुद्ध दर्शन संघले बुद्धको उपदेश अध्ययन गर्न र संसारसामु बुद्धको उपदेश पुर्‍याउनका लागि सम्भोट लिपिको पढाइ सुरु गराएको हो । 

दुई वर्षअघि स्थापना भएको संघले डेढ वर्षदेखि स्कुल खोलेर सम्भोट लिपि पढाउन सुरु गरेको थियो । अहिले सम्भोट लिपि पढ्न विद्यार्थीको आकर्षण बढेको संघले जनाएको छ । पहिले भोटे जातिले मात्रै यो लिपि पढ्न हुने भन्ने थियो तर अहिले क्षत्री,बाहुन,दलित सबैले यो लिपिको अध्ययन गरिरहेका छन् । 

अहिले १६ जना विद्यार्थीले यो लिपिको अध्ययन गरिरहेका छन् । दुई जना शिक्षक छन् । दिउँसो विद्यालयमा अध्ययन भइरहेकोमा यहाँ बिहान र बेलुकी पठनपाठन भइरहेको छ । यहाँ पढ्ने विद्यार्थीलाई आवासको समेत व्यवस्था छ । 

यो लिपि पढ्न काठमाडौं र भारततिर जानुपर्ने बाध्यता थियो तर अहिले जुम्लामै यो लिपिको पढाइ भइरहेको  खेन्पो कुन्ख्याब (छिरिङ तामाङ) ले जानकारी दिए । उनले बुद्धलाई बुझ्ने र उनको ज्ञानलाई संसारसामु चिनाउने हेतुले सम्भोट लिपिको पढाइ भइरहेको बताए । 'यहाँ मनको तनाव छ,' उनले भने, ‘त्यो तनाव हल्का गर्न र बुद्धको ज्ञान प्राप्तिको लागि पढाइ भइरहेको छ ।’

अहिले माध्यमिक तहको पठनपाठन भइरहेको छ । तर यो लिपिको पढाइका लागि कलेज स्थापना जुम्लामै गर्ने लक्ष्य छ । आठौं शताब्दीपूर्व यो लिपिको पठनपाठन नेपालमै हुन्थ्यो । 

अहिले मुगु जिल्लाका २ जना,गुठिचौरका ६ जना,पातारासीका ६ जना,तातोपानीका १ जना र डोल्पा जिल्लाका एक जनाले सम्भोटा लिपि पढिरहेका छन् । 

सम्भोट लिपि मुख्यतः भोट भाषामा लेख्न प्रयोग गरिने लिपि हो । सातौं शताब्दीमा तिब्बतका धर्मराजा स्रोङ्चन गम्पोका मन्त्री थोन्मि सम्भोटले विकास गरेका थिए । सम्भोटले राजाको आज्ञाअनुसार भारत गई विद्वान् लिपिकारहरूबाट शब्दविद्याको ज्ञान प्राप्त गरेपछि तिब्बत फर्केर यो लिपिको आविष्कार गरेकोको खेन्पो कुन्ख्याबले जानकारी दिए । उनका अनुसार सम्भोट लिपिमा चारवटा स्वरवर्णको चिहृन र तीसवटा व्यञ्जनवर्ण रहेका छन् । बुद्ध दर्शन संघ जुम्लाका कार्मा बुढाले सम्भोट लिपि अध्ययन गर्न आवश्यक रहेको बताए । उनले भने, ‘अहिले विद्यार्थी संख्या बढिरहेको छ । यो लिपिको महत्व बुझ्ने र बुद्धको ज्ञान प्राप्ति गर्ने विद्यार्थीको संख्या बढ्दै जाने देखिएको छ ।’ 

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully