प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउनुपर्छ : मन्त्री पुन

पत्रकार सम्मेलनमा मन्त्री पुनले कुलपति चयनमा राजनीतिक प्रभाव हटाउन प्रधानमन्त्रीको भूमिका अन्त्य गर्नुपर्ने र निष्पक्ष बोर्डमार्फत चयन हुनुपर्ने बताए।

कार्तिक ३, २०८२

कान्तिपुर संवाददाता

The system of Prime Minister being the Chancellor should be abolished: Minister Pun

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने विद्यमान व्यवस्था अन्त्य गर्नुपर्ने बताएका छन्।

मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले विश्वविद्यालयलाई सुधार गर्न राजनीतिक प्रभाव पूर्णतः हटाउनुपर्ने आवश्यकता औँल्याउँदै भने, 'विश्वविद्यालयलाई राम्रो बनाउन हो भने राजनीतिकरण निर्मूल पार्नुपर्छ। यसको सुरुवात नै प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउनेबाट गर्नुपर्छ।'

उनले अब विश्वविद्यालयमा निष्पक्ष प्रणाली विकास गर्न ‘बोर्ड अफ ट्रस्टी’ गठन गरी सोही बोर्डले कुलपति चयन गर्ने व्यवस्था हुनुपर्ने बताए । त्यसका लागि कानुन संशोधन आवश्यक रहेको बताउँदै उनले हाल न कानुन संशोधन गर्न सकिने अवस्था रहेको न त अध्यादेश ल्याउन मिल्ने परिस्थिति रहेको बताए । उनले भने, 'राजनीतिकरण हटाउनका लागि प्रारम्भिक मस्यौदा तयार भइरहेको छ ।'

उनले विश्वविद्यालयले समयमा परीक्षा परिणाम ननिकाल्ने गुनासो बढेपछि सबै विश्वविद्यालयलाई तोकिएको समयमा नतिजा प्रकाशन गर्न निर्देशन दिइएको पनि बताए। 'निर्धारित समयमै नतिजा सार्वजनिक नगर्ने विश्वविद्यालयको अनुदान रोक्ने निर्णय भएको छ,' उनले भने।

मन्त्री पुनले विद्यालयका शिक्षकको तलब–भत्ता नपाएको विषयमा छानबिन गर्न, प्रधानाध्यापक छान्ने प्रक्रिया सुधार गर्न र पाठ्यक्रम परिमार्जनको काम अगाडि बढाइएको जानकारी पनि दिए।

कान्तिपुर

Link copied successfully