जेन–जी आन्दोलनका कारण जलेका उत्तरपुस्तिका भएकाले कोशी र बाग्मती प्रदेशका झन्डै १० प्रतिशत विद्यार्थीको पुनःपरीक्षा आफ्नै प्रदेशमा हुने भएको छ।
काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सीटीईभीटीका विद्यार्थीको पुनःपरीक्षा सञ्चालन गर्न करिब १ करोड ७५ लाख रुपैयाँ खर्च हुने जानकारी दिएका छन्।
मन्त्री पुनले मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, 'जेन–जी आन्दोलनको क्रममा कोशी र बाग्मती प्रदेशका विद्यार्थीको उत्तरपुस्तिका जलेको कारण करिब १० प्रतिशत विद्यार्थीको कापी पुनःपरीक्षाको लागि तयारी भइरहेको छ। तर, काठमाडौं आउन नपर्ने व्यवस्था मिलाइएको छ, उनीहरु आफ्नो प्रदेशकै सेन्टरमा परीक्षा दिनेछन्।'
उनले थपे, 'विद्यार्थीहरुले ‘जाँच नदिई पास गर्नुपर्छ’ भन्ने माग गरेका थिए। तर, जाँच नगरी कसरी पास गर्न सकिन्छ? त्यसैले जलेका उत्तरपुस्तिका परीक्षामा लिनुपर्ने सहमति भएको छ। रुटिन पनि तयार भएको छ, सबै तयारी भइरहेको छ।'
मन्त्री पुनले सीटीईभीटीको नयाँ सम्बन्धन दिन र परिमार्जनका लागि छुट्टाछुट्टै समिति पनि गठन गरिएको जानकारी दिए। उनका अनुसार २०६९ सालदेखि हालसम्म ४४२ वटा सम्बन्धन निवेदन आएको छ, जुन छानबिन गरी दुई महिनाभित्र टुङ्ग्याइने छ।
