त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको झाडी फाडेर बगैंचा बनाउन निर्देशन
काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्रत्येक सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको व्यवस्था गरिने बताएका छन् ।
सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनका लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने उनले बताए । मन्त्रालयमा मंगलबार उठेका विषय भनेर उनले त्यसका लागि निर्देशन दिएको बताए ।
अर्थ मन्त्रालयबाट स्वीकृति लिएर मात्र शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक दरबन्दी थप गर्न सक्छ । २० वर्षदेखि सामुदायिक विद्यालयमा दरबन्दी थप भएको छैन ।
परीक्षापछि विद्यार्थीको नतिजा ३ महिनाभित्र सार्वजनिक गर्न पनि उनले शिक्षण संस्थालाई निर्देशन दिएका छन् । ‘केही विश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्षसम्म लगाउँदा रहेछन् । विद्यार्थीहरुको लागि त्यो अपूरणीय क्षति हो । त्यसैले विश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिएको छु,’ सामाजिक सञ्जालमा मन्त्री पुनले लेखेका छन्, ‘समयमै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरुको अनुदान रोक्का गरिनेछ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिनाभित्रै सार्वजनिक गर्दै आएको बताएका छन् ।'
त्यस्तै त्रिभुवन विश्वविद्यालयका सहकुलपतिसमेत रहेका मन्त्री पुनले कीर्तिपुरको हाताभित्र ठूलो क्षेत्रफलमा रहेको झाडी फाँडेर बगैंचासहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउन निर्देशन दिएका छन् । ठुला रुख भने काट्न नमिल्ने उनको निर्देशनमा उल्लेख छ ।
