जारी स्नातकोत्तर तहको ‘नेपाल पोल्टीकल एण्ड कल्चर’ विषयको परीक्षा दिँदै गर्दा उनी पक्राउ परेको डीएसपी लम्सालले बताए । पक्राउ परेका आफताबका बुवा मोहम्मद कांग्रेस पर्सा क्षेत्र नं २ का सभापति हुन् ।
पर्सा — वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा बुवाको साटो परीक्षा दिँदै गरेको अवस्थामा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–३ छपकैंयाका २४ वर्षीय महम्मद आफताब रहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए । उनले आफ्ना बुवा महम्मद साहबुद्दिनको ठाउँमा परीक्षा दिइरहेको पाइएको थियो ।
जारी स्नातकोत्तर तहको ‘नेपाल पोल्टीकल एण्ड कल्चर’ विषयको परीक्षा दिँदै गर्दा उनी पक्राउ परेको डीएसपी लम्सालले बताए । पक्राउ परेका आफताबका बुवा मोहम्मद कांग्रेस पर्सा क्षेत्र नं २ का सभापति हुन् ।
क्याम्पसको तर्फबाट हालसम्म आधिकारिक पत्र आइनसकेकाले घटनाबारे विस्तृत जानकारी नरहेको उनले बताए । क्याम्पस प्रमुख मोहनप्रसाद यादवले आफताबले बुवाको साटो परीक्षा दिइरहेका सूचना आएपछि आइतबार परीक्षा संचालन भइरहेकै समयमा दिउँसो डेढ बजेतिर परीक्षा कोठामा गएर जाँचपडताल गर्दा आफताब नक्कली परीक्षार्थी रहेको पुष्टि भएको बताए ।
‘मोहम्मद साहबुद्दिनको रोल नम्बर १५२७०२३ को प्रवेशपत्रमा आफताबले आफ्नो तस्बिर टाँसेर आइतबारसमेत तेस्रो परीक्षा दिइरहेको पाइयो,’ उनले भने, ‘एमए तेस्रो सेमेस्टरको परीक्षामा उनी सहभागी भएका थिए ।’
आफताबलाई वडा प्रहरी कार्यालय विर्ताको टोलीले पक्राउ गरेर लगेको उनले बताए । आफूले त्रिविका रजिष्ट्रार र डिनलाई पनि घटनाबारे जानकारी गराएको उनले बताए ।
पक्राउ परेका अफताब र नक्कली परीक्षार्थी पठाएर परीक्षा दिन लगाउने साहबुद्दीन दुवैमाथि त्रिभुवन विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को दफा २७० (क) अनुसार कारबाही हुने उनले बताए ।
