पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु

मेला उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले इक्यानले विद्यार्थीलाई विश्वका प्रतिष्ठित शैक्षिक संस्थाहरूसँग जोड्ने महत्त्वपूर्ण काम गरेको बताए ।

भाद्र २०, २०८२

दीपक परियार

The 8th ECAN Education Fair has started in Pokhara

What you should know

पोखरा — नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाको आयोजनामा 'आठौँ इक्यान एजुकेसन फेयर' पोखरामा सुरु भएको छ । टाइम्स एजुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजनमा सुरु भएको मेलामा विद्यार्थी र अभिभावकको उत्साहजनक सहभागिता रहेको छ ।

मेला उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले इक्यानले विद्यार्थीलाई विश्वका प्रतिष्ठित शैक्षिक संस्थाहरूसँग जोड्ने महत्त्वपूर्ण काम गरेको बताए । उनले सरकारले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि सहज र सुरक्षित वातावरण सुनिश्चित गर्न काम गरिरहेको जानकारी दिए ।

इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैरेले कोभिड महामारीका कारण रोकिएको मेलालाई निरन्तरता दिन सफल भएकोमा खुसी व्यक्त गरे । उनले  स्वदेशमा राम्रो शिक्षा र रोजगारीको अवसर नहुँदा विद्यार्थी विदेश जान बाध्य भएको यथार्थ औँल्याउँदै विद्यार्थीलाई सत्य-तथ्य परामर्श दिनु आफ्नो उद्देश्य रहेको बताए । 

नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले हिजोका दिनमा काठमाडौँमा मात्र सुरु भएका यस्ता गतिविधिहरू अहिले विभिन्न प्रदेश र जिल्लाहरूमा पनि भइरहेको बताए । 

गण्डकी प्रदेश सरकारले बनाएको निर्देशिकाका सम्बन्धमा बोल्दै उनले नीतिनियम बनाउने क्रममा सरोकारवालालाई राखेर छलफल गराए मात्रै कानुन बलियो हुने धारणा राखे ।

The 8th ECAN Education Fair has started in Pokhara

इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले काठमाडौंमा २९औं स्थापना दिवस मनाइरहँदा इक्यानले विद्यार्थीलाई विदेशका उत्कृष्ट कलेजमा भर्ना प्रक्रियामा मात्रै नभई, उनीहरूलाई नेपालको विकासक्रममा फर्काउने प्रयास पनि गरेको बताए । उनले शैक्षिक परामर्श क्षेत्रका लागि छुट्टै ऐन बनाउनुपर्ने र नीति निर्माण गर्दा सरोकारवालासँग छलफल गर्नुपर्ने सुझाव दिए । उनले पोखरालाई शिक्षाको ‘हब’ बनाउन निजी क्षेत्र र परामर्श केन्द्रले सहयोग गर्न सक्ने पनि बताए ।

इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले करियर काउन्सिलिङ, भर्ना र भिसा प्रक्रियाबारे सम्पूर्ण जानकारी दिने एउटा प्रमुख गन्तव्यका रूपमा पोखराको इक्यान मेला स्थापित भएको उल्लेख गरे । उनले भने, ‘फरक–फरक परामर्श केन्द्रमा धाउनुपर्ने परिस्थितिलाई दुई दिनको मेलाले सहयोग पुर्‍याउँछ ।’ व्यवसायीलाई प्रोत्साहन र गल्ती गर्नेलाई कारबाहीको व्यवस्था निर्देशिकामा समेटिनुपर्ने उनको भनाइ थियो । 

इक्यानका पूर्वकेन्द्रीय अध्यक्ष दीपक गुरुङले इक्यानका सदस्य रहेका परामर्श केन्द्रबाट मात्र आवेदन दिन विद्यार्थीलाई आग्रह गर्दै कुनै समस्या परे इक्यान सहयोगी बन्ने बताए ।

इक्यानका केन्द्रीय उपाध्यक्ष भुवनबहादुर क्षेत्रीले नेपालभर हाल ७ सय २० परामर्श केन्द्र शिक्षा मन्त्रालयमा सूचीकृत भएको जानकारी दिँदै ती संस्थाबाट विश्वसनीय सेवा लिन सकिने बताए । ‘इक्यानका सदस्यले विद्यार्थीलाई विदेश पठाउने मात्र नभई अध्ययनपछि नेपाल फर्काउने अभियान पनि सञ्चालन गरिरहेका छन्,’ उनले भने, ‘अवसरको खोजी गर्ने मानवीय स्वभाव नै हो, यद्यपि इक्यानले नेपाल फर्काउने अभियान पनि चलाइरहेको छ ।’

टाइम्स एजुकेसनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रेम सुवेदीले मेलालाई भव्य बनाउन सदैव साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले उत्कृष्ट परामर्शदाताको उपस्थितिमा हुन लागेको मेलाबाट लाभ लिन विद्यार्थी, अभिभावक एवं अन्य सरोकारवालालाई आग्रह गरे ।

इक्यानले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति लिएर मेला आयोजना गरेको हो । यो गण्डकी प्रदेशकै सबैभन्दा ठूलो शैक्षिक मेला भएको आयोजकको भनाइ छ । 

मेलामा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायतका कलेज, विश्वविद्यालयका प्रतिनिधि र इक्यानका सदस्य संस्थासहित ६५ वटा स्टल छन् ।  मेला शनिबारसम्म चल्नेछ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully