सामुदायिक विद्यालयका उत्कृष्ट शिक्षक पुरस्कृत

सम्मानका तथा पुरस्कारका लागि देशभरबाट उत्कृष्ट विद्यालय छनोटका लागि आवेदन माग गरिएको थियो ।

भाद्र २०, २०८२

कान्तिपुर संवाददाता

Awarded to the best teachers of public schools

What you should know

काठमाडौँ — सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्न योगदान गरेका सात वटै प्रदेशका उत्कृष्ट शिक्षक शुक्रबार पुरस्कृत र सम्मानित भएका छन् ।

विज्ञ समूहले दरखास्त आह्वान गरी प्रतिस्पर्धाबाट ७ जना शिक्षकलाई नगदसहित पुरस्कृत गरेको हो । जसमा फिक्कल मावि इलामका शिक्षक केशवराज कट्टेल, अजिज मियाँ मावि पर्साका जितेन्द्र राम, जनउद्धार मावि काठमाडौंका अप्सराकुमारी घिमिरे, राधा मावि तनहुँका विष्णु घिमिरे, राधाकृष्ण थारु मावि बर्दियाका प्रभात सुवेदी, कर्णाली माध्यमिक विद्यालय जुम्लाका देवेन्द्र तिमिल्सिना उपाध्याय र धनगढी नमुना प्राविधिक विद्यालय कैलालीका शिक्षक हेमराज विष्ट पुरस्कृत भएका प्रजापति (पीपी) प्रसाई फाउण्डेसनले जनाएको छ । पुरस्कृतहरुलाई त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा शिक्षाविद् केदारभक्त माथेमाले खाँदा लगाएर सम्मान गरेका थिए ।

भक्तपुरको सूर्यविनायकस्थित देवी आधारभूत विद्यालयले १ लाख राशिको उत्कृष्ट प्रोत्साहन पुरस्कार पाएको छ । सुधारका लागि प्रयत्न गर्दै आएको सामुदायिक विद्यालयलाई पुरस्कृत गरिएको आयोजकले जनाएको छ । त्यस्तै, पूर्वसचिव दिपेन्द्रपुरुष ढकाल पनि सम्मानित भएका छन् । पर्यटन क्षेत्रमा योगदान पुर्‍याएको कदर स्वरुप ढकाललाई पीपी प्रसाई टुरिज्म लाइफटाइम अचिभमेन्ट अवार्ड २०२५ बाट सम्मानित गरिएकोे फाउण्डेसनका अध्यक्ष शिखर प्रसाईले जनाए ।

देशभरबाट उत्कृष्ट विद्यालय छनोटका लागि आवेदन माग गरिएको थियो । ज्ञानोदय मावि काठमाडौंका पूर्वप्रधानाध्यापक धनञ्जय शर्मा नेतृत्वको विज्ञ टोलीले आवेदनको मूल्यांकन गरी पुरस्कृतहरु छनोट गरेको थियो । ‘शिक्षकको शिक्षण शैली, सिकाईमा प्रोत्साहन, अभिभावक तथा समुदायसँगको सम्बन्ध, पेसाप्रतिको समर्पण, विद्यार्थीको सिकाई उपलब्धि, स्थानीय, अभिभावक र समुदायको सिफारिसका आधारमा छनोट गरिएको हो,’ शर्माले भने ।

पुरस्कृतहरुलाई जनही ५० हजार र उनीहरु अध्यापनरत विद्यालयलाई १० हजार मूल्य बराबरको शैक्षिक सामग्री वितरण गरिएको फाउण्डेसनले जनाएको छ । स्वर्गीय पर्यटन व्यवसायी प्रजापति प्रसाईको सम्मानमा फाउण्डेसन स्थापना गरी विगतदेखि नै उत्कृष्ट शिक्षकलाई सम्मान गरिँदै आइएको हो । सम्मान कार्यक्रममा बोल्दै शिक्षाविद् माथेमाले शिक्षकहरुलाई उच्च सम्मान दिनुपर्ने र राजनीति संलग्नताबाट भने वञ्चित गर्नुपर्ने बताए ।

कान्तिपुर

Link copied successfully