विद्यार्थी समाजको सबल शक्ति भएको र उनीहरूले राष्ट्र सञ्चालन गर्ने क्षमता राख्ने भएकाले विद्यार्थी जीवनमै जिम्मेवारीबोध र लगनशीलता आवश्यक हुने उनको भनाइ थियो ।
डडेलधुरा — सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले शिक्षा समाज परिवर्तनको मेरुदण्ड रहेको बताएकी छिन् । डडेलधुरा बहुमुखी क्याम्पसको ३०औं वार्षिकोत्सवको अवसरमा क्याम्पसमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेकी हुन् ।
राज्यमन्त्री खड्काले विकास निर्माणदेखि सामाजिक रूपान्तरणसम्म शिक्षा अपरिहार्य रहेको उल्लेख गरिन् । विद्यार्थी समाजको सबल शक्ति भएको र उनीहरूले राष्ट्र सञ्चालन गर्ने क्षमता राख्ने भएकाले विद्यार्थी जीवनमै जिम्मेवारीबोध र लगनशीलता आवश्यक हुने उनको भनाइ थियो ।
आफू पनि यही क्याम्पसकी पूर्वविद्यार्थी भएको स्मरण गर्दै उनले महिलालाई पढ्न नदिने विगतको अवस्था अब परिवर्तन भई महिलाहरू उच्च शिक्षातर्फ आकर्षित हुनु सकारात्मक पक्ष भएको बताइन् । साथै, बढ्दो लागुऔषध प्रयोगप्रति चिन्ता व्यक्त गर्दै विद्यार्थीलाई यसविरुद्ध सक्रिय हुन आग्रह गरिन् ।
उनले प्रदेश सरकारका तर्फबाट छात्रा शौचालय, चमेना गृह, क्वाटरगार्ड र कम्प्युटर ल्याबजस्ता पूर्वाधार विकासका लागि सहयोग गर्ने घोषणा गरिन् । साथै छात्रा विद्यार्थीलाई शिक्षक सेवा आयोग र लोकसेवा आयोगका निःशुल्क तयारी कक्षा उपलब्ध गराइने प्रतिबद्धता पनि जनाइन् ।
कार्यक्रममा क्याम्पस प्रमुख लालबहादुर बुढाले प्राप्त सुझावलाई कार्यान्वयन गर्दै क्याम्पसको शैक्षिक गुणस्तरमा सुधार ल्याइने प्रतिबद्धता जनाए । स्ववियु सभापति गौरव ऐरले विद्यार्थीको हकहितका लागि निरन्तर सक्रिय रहने बताए ।
