ग्लोबल हब एडुकेस्नल कन्सल्टेन्सी, मिसन एडुकेस्नल कन्सल्टेन्सी, बनेपा हार्डफर्ड एडुकेस्नल कन्सल्टेन्सी र एसडीसी एडुकेस्नल कन्सल्टेन्सीले सम्बन्धित निकायबाट अनुमतिबिना सञ्चालनमा रहेको पाइएको थियो । उक्त एडुकेस्नल कन्सल्टेन्सीहरुमा अनुगमन टोलीले ताला लगाएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।
What you should know
काभ्रे — अनुमतिबिना सञ्चालित शैक्षिक परामर्श दातृ संस्था (एडुकेस्नल कन्सल्टेन्सी)लाई बन्द गर्न निर्देशन दिइएको छ । काभ्रेको बनेपामा सञ्चालित केही कन्सल्टेन्सी दर्ताबिनै सञ्चालनमा रहेको पाएपछि उक्त निर्देशन दिइएको हो ।
बिहीबार काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठको नेतृत्वमा जिल्ला शिक्षा समन्वय इकाई, उद्योग तथा वाणिज्य कार्यालय, बनेपा नगरपालिकाका प्रतिनिधिहरुले कन्सल्टेन्सीहरुको अनुगमन गरेका थिए ।
१५ वटा एडुकेस्नल कन्सल्टेन्सीहरु अनुगमन गरिएकोमा ५ वटा कन्सल्टेन्सीमात्रै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट अनुमति लिएर सञ्चालन रहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए । उनका अनुसार, डिस्ने सि एडुकेस्नल कन्सल्टेन्सी र एमइवाइभिएन एडुकेस्नल कन्सल्टेन्सीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति लिएर सञ्चालन गरेको पाइएको छ ।
त्यस्तै, रिच इट लर्निङ सेन्टर, ऐडुकेयर एडुकेसन सेन्टर र सक्सेस बीसीइसी एडुकेस्नल कन्सल्टेन्सी बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा दर्ता भएको पाइएको उनले बताए । उनका अनुसार, ग्लोबल हब एडुकेस्नल कन्सल्टेन्सी, मिसन एडुकेस्नल कन्सल्टेन्सी, बनेपा हार्डफर्ड एडुकेस्नल कन्सल्टेन्सी र एसडीसी एडुकेस्नल कन्सल्टेन्सीले सम्बन्धित निकायबाट अनुमतिबिना सञ्चालनमा रहेको पाइएको थियो । उक्त एडुकेस्नल कन्सल्टेन्सीहरुमा अनुगमन टोलीले ताला लगाएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।
त्यस्तै, एसएआर एडुकेस्नल कन्सल्टेन्सी, डिस्कभरी पाथ वे एडुकेस्नल कन्सल्टेन्सी प्रदेशको सामाजिक विकास मन्त्रालयमा दर्ताको प्रक्रियामा रहेकाले दर्ता भएपछि मात्रै सञ्चालन गर्न निर्देशन दिइएको उनले बताए । टोलीले अनुगमनका लागि आएको जानकारी पाएपछि डिएबी, ग्रेस, ट्राइल मेकर र क्याम्ब्रिज एडुकेस्नल कन्सल्टेन्सीका सञ्चालकहरु ताला लगाएर भागेका थिए ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयसँग भएको सूचीअनुसार काभ्रेमा १२ वटा एडुकेस्नल कन्सल्टेन्सीहरु अनुमति लिएर सञ्चालनमा रहेका छन् ।
बनेपामा ५ दर्जनभन्दा बढी तथा धुलिखेल, पाँचखाल, पनौतीलगायतका बजारमा १ सयभन्दा बढी एडुकेस्नल कन्सल्टेन्सीहरु सञ्चालनमा छन् ।
