महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित पदाधिकारीले कोटेश्वरस्थित समाजवादीको कार्यालयमा आइतबार धर्ना दिएका हुन्।
What you should know
काठमाडौँ — विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले आइतबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय कोटेश्वरमा धर्ना दिएको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस भएको विधेयक सच्याउन माग राख्दै महासंघले पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत दलका कार्यालयमा धर्ना दिइरहेको हो।
जसअन्तर्गत आइतबार महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित पदाधिकारीले कोटेश्वरस्थित समाजवादीको कार्यालयमा धर्ना दिएका हुन्। गत साता उनीहरूले कांग्रेस, एमाले र माओवादी केन्द्रको पार्टी कार्यालयमा धर्ना दिएका थिए ।
त्यस्तै, ७ सय ५३ स्थानीय तहमा महासंघका प्रतिनिधिले धर्ना दिदैं ज्ञापनपत्र बुझाएको अध्यक्ष सुवेदीले बताए। स्थानीय तह, जिल्लास्थित शिक्षा विकास समन्वय इकाई र पार्टी कार्यालयहरूमा दुई घण्टासम्म धर्ना कार्यक्रम सञ्चालन गरिएको महासंघले जनाएको छ । २१ गतेसम्म माग पूरा नभए दोस्रो चरणको अवरोधात्मक विरोध प्रर्दशन गर्ने महासंघले चेतावनी दिँदै आएको छ ।
गत ९ गते प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षामन्त्री रघुजी पन्त, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका राष्ट्रिय सभाका प्रमुख सचेतक गोपी अछामीलाई महासंघले माग पत्र सहितको ध्यानाकर्षण पत्र बुझाएको थियो ।
त्यस्तै, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि ध्यानाकर्षण पत्र पेस गरिसकेको अध्यक्ष सुवेदीले बताए । शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने विद्यालय शिक्षा विधेयकको व्यवस्था अस्वीकार्य रहेको महासंघले जनाएको छ ।
दरबन्दी संघअर्न्तगत नै रहनुपर्ने महासंघको माग छ । अस्थायी शिक्षकलाई ७५ प्रतिशत आन्तरिकबाट स्थायी गर्नुपर्ने माग राखिएको विधेयकमा ६० प्रतिशत आन्तरिकबाट गर्ने उल्लेख छ । अस्थायी शिक्षकलाई गोल्डेन हृयान्डसेकअन्तर्गत दिइने रकम किटान हुनुपर्ने, स्थायी शिक्षकको आवधिक बढुवा गरिनुपर्ने, स्थायी हुँदा अस्थायी सेवा अवधिको गणना व्यवस्था विधेयकमा गर्नुपर्ने माग राखिएको छ ।
शिक्षकलाई विभागीय कारबाहीको व्यवस्थामा पनि महासंघले असन्तुष्टि जनाएको छ । विद्यालय कर्मचारीको पद र वेतन सुनिश्चित हुनुपर्ने, बाल शिक्षकको पद र सेवा सुविधाको प्रबन्ध गर्नुपर्ने माग राखिएको छ । त्यस्तै, निजी विद्यालयका शिक्षकको सेवा सुविधा सुनिश्चितता गर्नुपर्ने, प्रअको ट्रेड युनियन अधिकार सुनिश्चित हुनुपर्ने, शिक्षण काउन्सिलको व्यवस्था हुनुपर्ने माग पत्रमा उल्लेख छ ।
विद्यालय शिक्षा विधेयककै विषयमा गत वैशाख १५ गतेदेखि २९ दिनसम्म शिक्षक महासंघले काठमाडौँ केन्द्रीय प्रर्दशन गर्दै शैक्षिक हडताल समेत गरेको थियो ।
