सीटीईभीटी भन्छ, ‘प्रमाणपत्रले मान्यता पाउँदैन’
What you should know
जनकपुरधाम — जनकपुरधाममा भारतीय शैक्षिक संस्थाले अवैध रूपमा तीन वर्षे ‘डिप्लोमा इन नर्सिङ असिस्टेन्ट’ कोर्स पढाइरहेको पाइएको छ । भारतको एसियन इन्टरनेसनल युनिभर्सिटी मणिपुरबाट आबद्धता रहेको भन्दै भारतकै सूर्यकला इन्स्टिच्युट अफ परामेडिकलले जनकपुरधाममा स्थानीय क्यारियर केयर कन्सल्टेन्सी प्रालिलाई स्वामित्व दिएर पठनपाठन गराइरहेको पाइएको हो ।
नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को पाठ्यक्रम पढाएर भारतीय विश्वविद्यालयको प्रमाणपत्र दिने गरेको कन्सल्टेन्सीका प्रमुख सञ्जीवकुमार साहले बताए ।
‘हाम्रो पढाइ जनकपुरमै हुन्छ । वर्षको एकपटक परीक्षा दिन भारतको सुरसन्ड जानुपर्छ,’ उनले भने, ‘प्रवेश परीक्षा दिनु पर्दैन । एडमिसन गराए बाँकी कुरा हामीले मिलाउँछौँ ।’
उनले नेपालकै नर्सिङ कोर्स पढाइरहेको बताए । नेपालको नर्सिङमा पढाइ हुने कोर्स नै एक वर्ष ढिलो गरी पढाउने गरेको उनले सुनाए । पाठ्यक्रम ८० प्रतिशत मिलेपछि सहजै सीटीईभीटीले समकक्षता दिने उनको दाबी छ ।
तर, सीटीईभीटी मधेश प्रदेश कार्यालयका निर्देशक अच्युत दाहालले त्यस्तो कुनै प्रावधान नरहेको र त्यस्तो प्रमाणपत्रले नेपालमा मान्यता नपाउने बताए । उनका अनुसार नेपालमा प्राविधिक शिक्षाको पठनपाठन गराउन अनुमति दिने, सञ्चालन गर्ने र सम्बन्धन दिने संस्था सीटीईभीटी हो । ‘यहाँबाट सूर्यकला नामको कुनै शैक्षिक संस्थाको आबद्धता छैन,’ उनले भने,‘त्यस्तो संस्थामा पढेको विद्यार्थीको प्रमाणपत्रले मान्यता पाउने छैन । लाइसेन्स दिने पनि कुनै प्रावधान छैन ।’ गत वर्ष पहिलो ब्याच ४० जनाबाट पढाइ सुरु गरेको इन्स्टिच्युटले यो वर्ष भर्ना लिइरहेको छ ।
विदेशको समकक्षता लिएर वा विदेशको विश्वविद्यालयसँग आबद्धता छ भनेर नेपालमा सरकारको सहमति बेगर कसैले कुनै पनि कार्यक्रम सञ्चालन गरे अवैध हुने निर्देशक दाहालको भनाइ छ । उनका अनुसार विदेशी संस्थाबाट प्राविधिक विषय पढेर आएको विद्यार्थीको समकक्षता सीटीईभीटीले नै दिने गर्छन् । भारतमा नर्सिङ पढेर नेपालमा अहिलेसम्म कुनै पनि विद्यार्थीले समकक्षता र लाइसेन्स नलिएको उनले दाबी गरे ।
नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष सरला केसीले पनि भारतीय संस्थाले नेपालमा नर्सिङ पढाउने र लाइसेन्स लिने कुनै प्रावधान नरहेको बताए । ‘पहिलो कुरा त्यस्तो संस्थाले पढाउनै पाउँदैनन् । त्यसपछि लाइसेन्स दिने कुरै भएन,’ उनले भनिन्, ‘नेपालभित्र मान्यता दिएका कलेजबाहेक अन्य संस्थामा पढेको विद्यार्थीले लाइसेन्सको परीक्षा दिने व्यवस्था छैन ।’ सीटीईभीटीका परीक्षा नियन्त्रक उमेश मिश्राले पनि भारतीय शैक्षिक संस्थाले नेपालमा नर्सिङ पढाउनु अवैध रहेको बताए । ‘त्यस्तो गरेको छ भने अवैध हो, बुझेर कानुन अनुसार अगाडि बढ्छु,’ उनले भने ।
क्यारियर केयर कन्सल्टेन्सी जनकपुरधाममा कार्यरत रञ्जिता साहले पनि जनकपुरको रामानन्द चोकबाट सरेर अहिले अस्पताल रोडमा विद्यार्थीलाई अनिवार्य छात्रावास बस्नु पर्ने गरी नर्सिङ पढाउने गरेको बताइन् । ‘होस्टेल त अनिवार्य नै छ । सबैले बस्नु नै पर्छ,’ उनले भनिन्, ‘पहिलो वर्ष होस्टेलमा राखेर हेर्छौँ दोस्रो वर्षदेखि विद्यार्थीको सबै कुरा ठिक भएपछि नबस्दा पनि हुन्छ ।’
कन्सल्टेन्सीका सञ्चालकसमेत रहेकी साहले भने विद्यार्थीको भविष्यका लागि जनकपुरमै घर भएका विद्यार्थीको लागि पनि छात्रावास अनिवार्य गरेको बताइन् । इन्स्टिच्युटले तीन वर्षे कोर्स पूरा गर्न ६ लाख शुल्क र त्यसबाहेक होस्टेल, पोसाक, प्रयोगशालालगायतको अतिरिक्त क्रियाकलापको खर्च छुट्टै हुने साहले बताइन् । सन् २०१८ देखि नेपालका विद्यार्थीलाई भारतकै संगम विश्वविद्यालयसँग आबद्धता लिएर हेल्थ असिस्टेन्ट कोर्स भारतमै पढाइरहेको उनले बताइन् ।
‘भारतमा पहिलो पटक २०१८ मा हामीले एचएको पढाइ सुरु गर्यौं,’ उनले भने, ‘त्यतिबेला पनि मान्छेहरूले फर्जी हो भने । तर हामीले अहिले पनि निरन्तरता दिएका छौं ।’
भारतमा एचए पढाएर नेपालमा सीटीईभीटीसँग मान्यता लिने गरेको उनले बताइन् ।
यसअघि स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्था सञ्चालन गरेका स्थानीय विमलेश सिंहले चिकित्सा शिक्षा आयोगले निजी कलेजलाई नर्सिङ जस्ता कार्यक्रम सञ्चालन गर्दा एक सय बेडको आफ्नै अस्पताल हुने प्रावधान ल्याएपछि फर्जी कलेज हाबी भएको बताए ।
सरकारले यस्तो प्रावधान ल्याएपछि केही वर्षअघि ६० भन्दा बढी कलेज बन्द भएको उनले सुनाए । उनका अनुसार सकारले उक्त प्रावधान ल्याएपछि अनुमति प्राप्त संस्था कम भए । विद्यार्थीको चाप बढ्दै गएपछि अनुमति पाएका संस्थामा ठाउँ नपाएर फर्जी कलेजसम्म पुग्ने गरेको उनले बताए ।
