शैक्षिक परामर्श क्षेत्र नियमन गर्न कांग्रेसको ध्यानाकर्षण

सत्तारुढ दल कांग्रेसका शिक्षा विभाग प्रमुख तथा केन्द्रीय सदस्य नैनसिंह महरले शिक्षामन्त्री रघुजी पन्तलाई ध्यानाकर्षण बुझाउँदै शैक्षिक परामर्श नियमनमा सरकारलाई सक्रिय हुन आग्रह गरेका हुन् ।

भाद्र १३, २०८२

कान्तिपुर संवाददाता

Attention of Congress to regulate the field of educational counseling

काठमाडौँ — सत्तारुढ दल कांग्रेसको शिक्षा विभागले शैक्षिक परामर्श क्षेत्र नियमन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

विभाग प्रमुख तथा केन्द्रीय सदस्य नैनसिंह महरले शिक्षामन्त्री रघुजी पन्तलाई ध्यानाकर्षण बुझाउँदै शैक्षिक परामर्श नियमनमा सरकारलाई सक्रिय हुन आग्रह गरेका हुन् । शैक्षिक परामर्श क्षेत्र सुधारका लागि १० बुँदे प्रस्ताव सार्वजनिक गर्दै सरकारसँग माग गरिएको उनले बताए । नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हब बनाउन परामर्श क्षेत्रलाई साझेदारका रूपमा अघि बढाउनुपर्ने उनको भनाई छ ।

परामर्श व्यवसायलाई व्यवस्थित गर्दै कानुनी र नीतिगत स्पष्टता ल्याउनुपर्ने प्रस्ताव गरिएको छ । विदेशी विद्यार्थीलाई आकर्षित गर्न छात्रवृत्ति कोटा व्यवस्था गर्नुपर्ने, अन्तर्राष्ट्रिय विद्यार्थी भिसा नीतिलाई शीघ्र लागू गर्नुपर्ने सुझाव दिइएको छ । शैक्षिक परामर्शको नाममा दर्ता बिनै कन्सल्टेन्सीहरू सञ्चालनमा रहेको भन्दै सरकारको आलोचना हुँदै आएको छ । कम्पनी ऐनअनुसार दर्ता नगरी वा इजाजत पत्र विना सञ्चालन भइरहेका परामर्श संस्थामाथि कारबाही गर्नुपर्ने, अनलाइनमार्फत मात्र विदेश पठाउनेलाई नियन्त्रण गर्नुपर्ने, ठगी र विसङ्गति रोक्न धरौटी र नियमित अनुगमन व्यवस्था गर्नुपर्ने कांग्रेस शिक्षा विभागको माग छ ।

विदेशमा पढ्न जाने विद्यार्थीलाई न्यूनतम मापदण्ड पूरा गरेका विश्वविद्यालयमै पठाउने व्यवस्था गर्नुपर्ने उल्लेख छ । नक्कली विवाह लगायत फर्जी कागजात बनाउने र अवैध वित्तीय कारोबारमा संलग्न परामर्श संस्थामाथि शून्य सहनशीलताको नीतिअनुसार कारबाही गर्नुपर्ने माग गरिएको छ ।

कान्तिपुर

Link copied successfully