विद्यालय शिक्षा विधेयकमा आफ्ना माग सम्बोधन नभए आन्दोलन चर्काउने शिक्षकहरूको चेतावनी

विद्यालय शिक्षा विधेयकमा बाँकी माग सम्बोधन गर्न शिक्षक महासंघले प्रमुख दलका मुख्यालयमा धर्ना दिँदै दबाब बढाएको छ।

भाद्र १२, २०८२

कान्तिपुर संवाददाता

Warning of teachers who will protest if their demands are not addressed in the school education bill

What you should know

काठमाडौँ — शिक्षकहरूले विद्यालय शिक्षा विधेयकमा आफ्ना सबै माग सम्बोधन नभए आन्दोलनलाई अझ चर्काउने चेतावनी दिएका छन्। बिहीबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा धर्ना दिन पुगेका उनीहरूले सो विधेयकमा महत्त्वपूर्ण माग सम्बोधन नभए फेरि आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति नेतृत्वको टोलीले विद्यालय शिक्षा विधेयकमा माग सम्बोधन गर्न दबाब दिँदै प्रमुख दलका मुख्यालयमा धर्ना दिइरहेका छन्।

विद्यालय शिक्षक र कर्मचारीका बाँकी माग सम्बोधन गराउन दबाब स्वरूप दलको केन्द्रीय कार्यालयमा धर्ना दिनुपरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए। उनले माग सम्बोधन नभई ऐन संघीय संसद्बाट पारित भए आन्दोलनलाई थप कडाइका साथ अघि बढाउन बाध्य हुने चेतावनी पनि दिए।

अध्यक्ष सुवेदीले भने, 'समितिबाट अघि बढ्दा हाम्रा केही माग–मुद्दा सम्बोधन भएर आएका छन्। अब केही महत्त्वपूर्ण माग छुटेका छन्। ती प्रतिनिधिसभा र राष्ट्रिय सभामा अझै संशोधनको स्थान छ। त्यसैले संशोधन गरेर विद्यालय शिक्षक–कर्मचारीमैत्री अग्रगामी ऐन बनाउन दबाब सिर्जना गर्न हामी आन्दोलनमा छौँ। भदौ ९ गते नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला र ११ गते नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई भेटेका छौँ। दुवै नेताले छलफल गरेर छुटेका एजेन्डा सम्बोधन गर्न सकिने सकारात्मक प्रतिक्रिया दिनुभएको छ।'

महासंघले भदौ ११ गते (बुधबार)देखि विधेयकमा माग सम्बोधन गराउने उद्देश्यले प्रमुख दलको मुख्यालयमा प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म २ घण्टा धर्ना दिने कार्यक्रम सुरु गरेको छ। त्यसैक्रममा बुधबार कांग्रेस मुख्यालय सानेपामा धर्ना दिइएको थियो भने बिहीबार एमाले मुख्यालय च्यासलमा धर्ना दिइएको हो। भदौ १३ गते (शुक्रबार) नेकपा (माओवादी केन्द्र) को पेरिसडाँडास्थित मुख्यालयमा धर्ना दिने कार्यक्रम रहेको महासंघले जनाएको छ।

कान्तिपुर

Link copied successfully