महासंघले विद्यालय शिक्षा विधेयकमा शिक्षकका माग सम्बोधन गर्न ध्यानाकर्षण गराउँदै आन्दोलनलाई बलियो बनाएको छ।
What you should know
काठमाडौँ — नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक २०८० मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै देशव्यापी आन्दोलन सुरु गरेको छ ।
महासंघले सोमबार प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षणपत्र बुझाएको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनको पहिलो चरणअन्तर्गत ध्यानाकर्षणपत्र बुझाइएको जानकारी दिए ।
आन्दोलनरत शिक्षकहरूलाई नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले विद्यालय शिक्षा ऐनमा राम्रा कुराहरू पनि भएकोले तिनीहरूलाई स्वागत गर्न आग्रह गरे ।
उनले शिक्षकका धेरै माग पूरा गरिएको र केही मागहरू भने सम्बोधन गर्न बाँकी रहेकोले आगामी दिनमा सम्बोधन गर्दै जाने बताए । उनले सरकारलाई पनि शिक्षकसँग भएका सहमति पालना गर्न आग्रह गरे । सरकारलाई ठूलो आर्थिक भार नपर्ने खालका शिक्षकका मागहरू सम्बोधन गरेर अगाडि बढ्न सकिने उनको भनाइ छ ।
उनले भने, ‘विशेषगरी विद्यालय शिक्षासम्बन्धी विधेयकमा उनहरूको अपेक्षा के थियो भने सरकारले विगतका विभिन्न समयमा गरेका सम्झौता–सहमति कार्यान्वयन गरिदियोस्, त्यस बमोजिम विधेयक बनिदियोस् भन्ने थियो । तर सबै कुरा उनहरूले भनेअनुसारै सम्बोधन गर्ने प्रयत्न कयौँ ढङ्गबाट नभएका होइनन्, भएका छन् । र विद्यालय शिक्षासम्बन्धी विधेयकमा धेरै विषयलाई सम्बोधन गरिएको छ ।’
नेपाली कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकायले अहिले शिक्षा विधेयक आउनु नै महत्वपूर्ण भएको बताए ।
संघीयतालाई कार्यान्वयन गर्नका लागि विद्यालय शिक्षा ऐन, संघीय निजामती ऐन र प्रहरी ऐन बन्न आवश्यक रहेको औँल्याउँदै उनले यो विधेयक आउनु नै महत्त्वपूर्ण भएको बताए । उनले विधेयक अपरिवर्तनीय नभएको, अभ्यास गर्दै जाँदा समस्या देखिए संशोधन गर्न सकिने बताए ।
उनले भने, ‘कुनै पनि विधेयक अपरिवर्तनीय हुँदैन । एक पटकका लागि मात्रै आउने होइन । अभ्यास गर्दै जाँदा जहाँ समस्या हुन्छ, जुन आवश्यक हुन्छ, त्यसलाई फेरि पनि संशोधन गर्न सकिन्छ ।’
नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकले शिक्षकको सेवा–सुविधा, स्थायित्व र अधिकार कमजोर बनाएको जनाएको छ ।
गत वैशाखमा एक महिनासम्म चलेको शिक्षक आन्दोलन ९ बुँदे सहमतिपछि स्थगित भएको थियो । तर भदौ ६ मा प्रतिनिधिसभामा पेस भएको विधेयकमा ती सहमति कार्यान्वयन नभएको भन्दै महासंघ पुनः आन्दोलनमा होमिएको अध्यक्ष सुवेदीले बताए ।
महासंघले २०७५, २०७८, २०८० र २०८१/८२ मा सरकारसँग भएका सहमति लागू गर्न, अस्थायी शिक्षकका लागि ७५% आन्तरिक र २५% खुला पदपूर्ति (हालको ६०%–४०% को सट्टा), आवधिक बढुवा, म्याद सकिएको अध्यापन अनुमतिपत्र नवीकरण, विद्यालय कर्मचारीको तलब र पद, बालकक्षा शिक्षकको सेवा, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकको उपदान र शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरणको विरोध गरेको छ ।
