शिक्षक महासंघ र निजी विद्यालयका सञ्चालक आन्दोलनमा

शिक्षक महासंघले शिक्षक दरबन्दी हस्तान्तरण र अन्य व्यवस्थामा असहमति जनाउँदै विद्यालय बन्द गर्ने चेतावनीसहित आन्दोलनको घोषणा गरेको छ।

भाद्र ९, २०८२

कान्तिपुर संवाददाता

Teachers' federations and private school administrators are protesting

काठमाडौँ — विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै नेपाल शिक्षक महासंघले सोमबारदेखि आन्दोलन थालेका छन् भने निजी विद्यालय सञ्चालकहरूको आन्दोलन पाँच दिनदेखि जारी छ।

निजी विद्यालय सञ्चालकहरूले माइतीघरदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका छन्। उनीहरूले कालोपट्टि बाँधेर विरोध गरेका थिए। निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउनुपर्ने र १० देखि १५ प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने विधेयकको व्यवस्था हटाउनुपर्ने माग उनीहरूले राखेका छन्। विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भई प्रतिनिधिसभामा पेस भएको छ। माग पूरा नभए भदौ १२ गतेपछि विद्यालय समेत बन्द गरेर आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन्।

त्यस्तै, शिक्षक महासंघले राजनीतिक दलका सचेतकहरूलाई ध्यानाकर्षण गराउँदै आन्दोलन थालेको छ। शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने लगायत विधेयकका विभिन्न व्यवस्थामा असहमति राख्दै आन्दोलनको घोषणा गरिएको हो। अस्थायी शिक्षकलाई ७५ प्रतिशत आन्तरिकबाट स्थायी बनाउनुपर्ने, स्थायी शिक्षकको आवधिक बढुवा गरिनुपर्ने लगायत माग अघि सारिएको छ।

माग पूरा नभए भदौ २१ गतेदेखि विद्यालय नै बन्द गरेर आन्दोलन गर्ने चेतावनी शिक्षक महासंघले पनि दिएको छ। पहिलो चरणमा पालिका, जिल्ला, प्रदेश र केन्द्रमा ज्ञापन पत्र बुझाउने, घेराउ गर्ने लगायतका कार्यक्रम घोषणा गरिएको छ।

कान्तिपुर

Link copied successfully